Logo

शिल्पालाई तारेखमा बस्न आदेश



काठमाडौं, मंसिर १ । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले अभिनेत्री पोखरेललाई तारेखमा बस्न आदेश गरेको थियो। जिल्ला अदालत काठमाडौंले तारेखमा रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुन आदेश दिएको थियो।

सर्वोच्च अदालतले उनको रिट निवेदन खारेज गरेपछि उनलाई पक्राउ पर्ने बाटो खुलेसँगै उनी शुक्रबार जिल्ला अदालतमा हाजिर भएकी थिइन्। उनी हाजिर भएपछि थुनछेक बहस भएको र बहसपछि उनलाई साधारण तारेखमा बस्न आदेश दिएको अदालतका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।

यसअघि पोखरेलले आफूविरुद्ध पक्राउ पूर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले गत मंगलबार अभिनेत्री पोखरेलको जिल्ला अदालतविरुद्धको रिट निवेदन खारेज गरेको थियो। सर्वोच्च अदालतले अभिनेत्री पोखरेलको रिट निवेदन खारेजसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो।

फिल्म निर्माता छवि ओझासँग विवाह गरेकी अभिनेत्री पोखरेलविरुद्ध ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन्। गत साउनको पहिलो साता काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न आदेश दिएको थियो।

फिल्म निर्माता छविकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा निर्माता छविविरूद्ध बहुविवाहको उजुरी हालेपछि पक्राउ पूर्जी जारी गरिएको थियो। त्यसअघि पति ओझाले घरेलु हिंसा गरेको भन्दै अभिनेत्री पोखरेलले दिएको जाहेरीको टुंगो लागेलगत्तै यी द्वयविरुद्ध बहुविवाहको अर्को जाहेरी परेको थियो।



प्रतिक्रिया दिनुहोस्