Logo

नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन : डा. चन्द्र भण्डारी (भिडियोसहित)



काठमाडौं, १ मंसिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने,‘देश भनेको सबैको साझा हो । देशप्रति जनता ईमानदारिता छन् । तर, नेताहरु ईमानदार भएनन् ।’ सरकारमा बसेका नेताहरुभन्दा जनता ईमानदार रहेको उनको भनाई छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालको सुरक्षा निकायपनि देशको सीमाप्रति संवेदनशील नभएको गुनासो पोखे । उनले भने,‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कोहीपनि सीमानामा देखिएनन् । सरकारले उनीहरुलाई सीमा सुरक्षाको लागि कतैपनि पठाएको छैन् । यो गम्भिर प्रश्न हो । तराई जाउँ वा उत्तरपट्टिको कोरला नाकाको कुरा होस्, पीडा छन् ।’ तराईका जनताले पनि धेरै दुःख पाएको उनको भनाई छ । उनले भने,‘नेपालको सुरक्षा सरकारले वा नेपालका नेताले गरेका होईनन् । हाम्रो सीमाको सुरक्षा त नेपाली जनताले गरेका हुन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सुस्ता, सप्तरी, सर्लाही, कञ्चनपुर, कोरला नाका सबैतिर समस्या रहेको सुनाए । उनले भने,‘कोरला नाकामा चीनले आफ्नोतर्फ बलियो उपस्थिति बनाएको छ । उसको सेनाको बलियो उपस्थिति छ । तर, नेपालतर्फ सुनसान छ । हाम्रोतर्फ ठगहरुको सलबलाहट छ । त्यही भएर सीमा मिचिएको छ।’ भण्डारीले मुलुकमा धेरै सरकार गठन भएको र धेरै प्रधानमन्त्री भएपनि नेतामात्रै धनी भएको तर देश र जनताको अवस्था दयनीय रहेको टिप्पणी गरे ।

नेपालको सरकार कमजोर हुँदा ठूला छिमेकीलाई फाईदा पुगेको उनको भनाई छ । उनले भारत र चीन दुवैसँग सीमाको विवाद कुटनीतिक रुपमा हल गरिनुपर्ने सुझाव दिए । उनले भने,‘नियम, कानून र पूर्वीय दर्शनको थिमअनुसार आफ्नो कुरा राखेर धैर्यतापूर्वक शिष्टाचार भएर कुटनीतिक आधारमा आफ्नो कुरा राख्नुपर्छ ।’ उनले नेपालका शासकहरुबाट देशको सीमाको सुरक्षा नभएको बताए ।

देशको सीमा समस्याको समाधानको लागि पछिल्लो समय मुलुकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै यो खुशीको कुरा भएको उनले बताए । उनले भने,‘हामीले अब संयम र सक्षम कुटनीतिक पहल कादम चाल्नुपर्छ । नेताहरु ईमानदार हुनुपर्छ । सरकारले अब पहल गर्नुपर्छ । देशलाई अहिले संकट परेको छ । यस्तो बेलामा घोचपेच गर्नुहुँदैन् ।’

भण्डारीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको पनि टिप्पणी गरे । उनले भने,‘सबै मिलेर खाएका छन् । यो देशका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल हस्पिटल छन्, यी सबै अस्पतालहरुमा एक एक अर्ब ईक्युवमेन्ट ल्याईदिएको भए कोहीपनि विदेश उपचार गर्न जानुपर्दैन थियो । डा. प्रेम ज्ञवालीले कोही पनि विदेशी उपचार गर्न जानुपर्दैन् भनेर भनिरहेका छन् । हामीले अब नेपालका अस्पतालहरुलाई सुविधा दिनुपर्छ । यहाँ पनि सक्षम चिकित्सकहरु छन् ।’

एनसेलमा पनि सबै मिलेर भ्रषटाचार गरेको उनको आरोप छ । ठेक्कापट्टामा पनि मिलेर नै खाएको उनको भनाई छ । उनले भने,‘तर, जनताका छोराहरुलाई बोरामा हालेर अरब पठाउने मात्रै काम भयो । अब करेक्शन गर्नुपर्छ । जनता असल र ईमानदार छन् । वाईडबडी, एनसेल, सुनकाण्ड सबै मिडियाले बाहिर ल्याएका हुन् । त्यसैले मिडियालाई धन्यवाद दिनुपर्छ ।’

उनले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको सुनाए । तर, भारतको विदेश नीति हस्तक्षेपकारी र चीनको साईलेन्स भएको सुनाउँदै नेपालले भारत र चीन दुवै राष्ट्रसँग कुरा गर्नुपर्छ । उनले भने,‘नेपाल त पूर्वीय दर्शनको लिड गरेको देश हो । त्यसैले हामीले लिड गर्नुपर्छ ।’ उनले नेपालका नेताहरु धेरै जना जेल जान लायक रहेका पनि उनको भनाई छ । उनले भने,‘सबै नेताहरुको छानबिन गरिनुपर्छ । यहाँ महरा, आलम जेल जान हुने अनि शारदा अधिकारी र हरिनारायण रौनियारलाई किन थुन्न सक्दैन् । किनकी यो सरकार माफियाहरुसँग डराएको छ ।’



प्रतिक्रिया दिनुहोस्