Logo

भारत र चीनसँगको सीमा विवाद कुटनीतिक रुपमा हल गर्नुपर्छ : डा. यादव



काठमाडौं, १ मंसिर । समाजवादी पार्टीका नेता डा. शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको सुनाए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सीमा विवादबारे प्रधानमन्त्रीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाउनुभयो, यो अत्यन्तै राम्रो कुरा हो । यसले मुलुकभरि राम्रो सन्देश गएको छ । अहिले राष्ट्रिय एकता बनेको छ । बालुवाटारको बैठकले पनि राष्ट्रिय एकता मजबुद भएको सन्देश गएको छ ।’

यादवले सरकारले भारतसँग सीमा मिचेको बारेमा गम्भिर छलफल गर्छु भनेको सुनाउँदै यसको बारेमा सडकमा विरोध गर्न नहुने सुझाव दिए । उनले भने,‘सरकारले भारतसँग कुटनीतिक रुपमा समस्या समाधानको लागि पहल गर्छु भनिसकेको छ । सर्वपक्षीय बैठकमा सबैको एकमत छ । यस्तो अवस्थामा सडकमा प्रदर्शन गर्नु र सडक तताउने कुरामा म सहमत छैन् ।’ उनले भारत र चीन दुवैसँग नेपालले सीमा विवादबारे कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमणमा आउँदा नेपालको तत्कालिन संविधानसभामा ‘भारतले नेपालीबिना एउटापनि युद्ध नजितेको’ भनेर गरेको भाषण आफ्नो मानसपाटलमा अहिलेपनि ताजै रहेको यादवले स्मरण गराए । उनले भने,‘हामी नेपालीहरुले आफ्नो जमिनबारे कसैसँगपनि सम्झौता गर्दैनौं । हामी हाम्रो राष्ट्रियताप्रति प्रष्ट छौं ।’

उनले भारत र चीन दुवैले नेपालको सीमा मिच्न नपाउने बताए । दुवै देशसँग सम्बन्ध र मित्रता गहिरो रहेकोले दुवै तर्फबाट मित्रवत व्यवहार हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै, यादवले भ्रष्टाचारले अहिले देशमा जरा गाडेको पनि टिप्पणी गरे । उनले भने,‘हाम्रो देश भ्रष्टाचारको रोगले ग्रस्त छ । मुलुक सुशासन भए भ्रष्टाचार निर्मूल हुँदै जान्छ । सरकारले भ्रष्टाचारको सवालमा कडा कदम चालेको छ । सरकार भ्रष्टाचार रोक्नको लागि अग्रसर छ । यसमा जो कोहीपनि संलग्न भए सरकारले छोड्नेवाला छैन् ।’

उनले संविधान संशोधन गर्नको लागि पनि आफ्नो पार्टी सरकारमा रहने निश्कर्ष पार्टीको हालै बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरेको सुनाए । उनले भने,‘संविधानलाई अग्रगामी बनाउनको लागि पनि संशोधन अनिवार्य छ । यसको लागि सरकारमा हाम्रो उपस्थिति अनिवार्य रहेको कुरा हामीले महशुस गर्यौं ।’ उनले अरु दललाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको जनाए ।

राजपा नेपालसँगको एकताकोलागि वार्ता जारी रहेकोले एकता हुनेमा आफू आशावादी रहेको यादवको भनाई छ । उनले भने,‘एकीकरणको सवाल भनेको गम्भिर विषय हो । राजपासँग एकता हुन्छ भन्नेमा म आशावादी छु ।’



प्रतिक्रिया दिनुहोस्