Logo

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिने निजी चिकित्सक शाहको खुलासा



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेको छ । तर यसबारे स्पष्ट जानकारी गराइएको छैन । यद्यपी प्रधानमन्त्री ओलीको निजी चिकित्सकहरुले पटक पटक डायलासिस गर्नुभन्दा पुनः मृगौला प्रत्यारोपण नै सुरक्षित हुने बताएका छन् । अहिलेको स्वास्थ्य अवस्था सामान्य भए पनि पुनः एक पटक मृगौला प्रत्यारोपणको आवश्यकता रहेको संकेत भने दिइएको छ ।

१२ बर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था पछिल्लो समय समान्य छैन । दुईपटकसम्म सिंगापुर गएर उपचार गराए पनि नियमित स्वास्थ्य परीक्षण गरिरहनुपरेको छ । देशकै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सर्वत्र चासो र चिन्ता पनि व्यक्त भइरहेको छ । पछिल्लो समय नियमित डायलासिस गराइरहेकाले पनि ओलीको स्वास्थ्य अवस्था कमजोर छ भन्ने आँकलन गर्न सकिन्छ । प्रधानमन्त्रीले अमेरिका गएर दोस्रोपटक मृगौला प्रत्यारोपण गर्नका लागि वृहत छलफल गरिरहेको पनि बताइएको छ ।

यस विषयमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहसँग जवाफ माग्दा स्पष्ट जवाफ दिइनन् । तर १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम नगरेको कुरा भने सिंहले लुकाइनन् ।

प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न नसकेको अवस्थामा नियमित डायलासिस गर्नुभन्दा पुनः प्रत्यारोपण नै उत्तम हुने संकेतसमेत सिंहले दिएकी छिन् । पुनः मृगौला प्रत्यारोपण गर्नु निकै जोखिम मानिन्छ । अमेरिका गएर प्रत्यारोपण गर्ने तयारी भइरहेको भन्ने विषयमा भने सिंहले ओली अध्यक्ष रहेको दल नेकपा र पारिवारिक छलफलबाट निष्कर्ष निस्कने जवाफ दिइन् ।

प्रधानमन्त्री ओलीको शनिवार तेस्रोपटक होमोडायलाइसिस गरिएको थियो । शनिबार बिहान स्वास्थ्योपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको दिउँसो हेमोडायलाइसिस गरिएको थियो ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गर्न छोडेका कारण शरीरमा क्रियटाइनको मात्रा बढेपछि प्रधानमन्त्री ओलीको १३ कात्तिकमा पहिलोपटक डायलाइसिस गरिएको थियो । दुई दिनसम्म ग्रान्डीमा रहेर उपचार गराएका प्रधानमन्त्री ओली १४ कात्तिकमा दोस्रोपटकको डायलाइसिसपछि डिस्चार्ज भएका थिए । त्यसपछि केही समय काममा निकै सक्रिय देखिएका प्रधानमन्त्री ओलीको शनिबार तेस्रोपटक डायलाइसिस गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्