Logo

सागका लागि कीर्तिपुर मैदानमा मर्मतको चटारो, शौचालयसमेत पर्याप्त छैन



मानिने कीर्तिपुर क्रिकेट रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकूदअन्तरगत क्रिकेट खेल हुँदैछ । यसअघि घरेलु तथा अन्तराष्ट्रियस्तरको खेल हुँदै आएको कीर्तिपुर मैदान व्यवस्थित भने छैन । मैदान उत्कृष्ठ भए पनि अन्य संरचना पर्याप्त छैन । १३ औँ सागका लागि अहिले रंगशाला हतारहतारमा मर्मत भइरहेको छ ।

काठमाण्डौ जिल्लाको किर्तीपुर नगरपालिकाभित्र अवस्थित क्रिकेट रंगशाला नेपाली क्रिकेट खेलाडिहरुका लागि मन्दिर नै हो भन्दा फरक नपर्ला । क्रिकेट खेलाडिले यो रंगशालामा धेरै पसिना बगाएका छन् । र देशको नाम विश्वभर फैलाउन सफल भएका छन् । तर यही रंगशालाको व्यवस्थापनमा भने सम्बन्धित निकाय गम्भीर बन्न सकेको पाइदैन ।

यही रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा समावेश क्रिकेट खेल खेलाइने छ । तर रंगशालाको अवस्था भने सन्तोषजनक छैन । रंगशालाको बारेमा जानकारी लिन हामी पुग्दा भित्र प्रवेश गर्ने अनुमतिसमेत दिइएन । यसबाट पनि स्पष्ट हुन्छ कि रंगशाला निकै नै अस्तव्यस्त छ । खेल्ने खेलाडिदेखि हेर्ने दर्शकसम्मका लागि रंगशाला अनुकूल बन्न सकेको छैन । न व्यवस्थित बस्ने ठाउँ, न पर्याप्त शौचालय । फोहोरमैला व्यवस्थापनमा पनि ध्यान दिइएको छैन ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का

१३ औँ सागको क्रिकेट खेलका लागि रातारात अहिले मर्मतको काम भइरहेको छ । हतारमा गरिएको कामले एकातिर बजेट स्वाहा हुन्छ भने अर्कोतिर गुणस्तरीय काम हुँदैन । यससम्बन्धमा खेलकूदसँग सँम्बन्धित निकाय र कीर्तिपुर नगरपालिकाबीच समन्वय हुनुको साटो मतभेद देखिन्छ । नगरपालिकाकी उपमेयर सरस्वती खड्काले रंगशाला व्यवस्थित गर्ने विषयमा खेलकूदसँग सम्बन्धित निकायले जिम्मेवारी पूरा नगरेको आरोप लगाएकी छिन् ।

साग खेलमा क्रिकेट दोस्रो पटक समावेश गरिएको हो । क्रिकेटका केही खेल पोखरामा पनि खेलाइने छ । क्रिकेटमा ओलम्पिक खेलकुद सरहको अण्डर ट्वान्टी थ्रि टोलीले खेल्ने छन् । सागमा कूल २७ खेल समावेश गरिएको छ । सात देशका कुल तीन हजार बढी खेलाडी र अफिसियल गरि सागमा पाँच हजार बिदेशी पाहुना आउनेछन् प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत र चार सय ८७ कास्य गरि कूल एक हजार एक सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्