Logo

रात्री क्लबमा पुगेको आधारमा मात्र कारबाहीमा परेका होइनन् फुटबलका चार खेलाडी



काठमाडौं, १ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्भवत फुटबल इतिहासकै कडा अनुशासन कारबाही गर्यो । विश्वकप फुटबल छनोट खेल्ने खेलाडीहरुलाई राष्ट्रिय टोलीबाटै हटाइदियो । बन्द क्याम्पबाट घर जान्छु भनेर हिंडेका खेलाडीहरु रात्रीक्लबमा भेटिएपछि त्यस्तो कारबाही गरेको हो ।

खेलाडीहरु रात्री क्लबमा पुगेर मात्र यो कारबाही नभएकोतर्फ समेत चासो बढेको छ । उनीहरुले रात्रीक्लबमा कुनै अराजक गतिविधि गरेकाले घटना बाहिर आएको हुनसक्नेतर्फ समेत चासो बढेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा देशबाहिर हुँदा पछिल्लो घटना भएको हो । उनले विदेशबाट सम्पर्क गरी कारबाहीको कडा निर्णय लिएका हुन् ।
कारबाहीमा परेकामध्ये विमल घर्तीमगर नेपालकै महङ्गा खेलाडीमध्येका हुन् । अञ्जन बिष्ट यसपटकको विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्नेमा पर्छन् ।

दिनेश राजवंशी र सन्तोष तामाङ राम्रा खेलाडी हुन् । जतिसुकै राम्रा खेलाडी भएपनि नियम उल्लंघन गरेकाले एन्फाले उनीहरुमाथि कारबाही गरिसकेको छ ।
अहिलेलाई राष्ट्रिय टोलीबाट मात्र हटाइएका चार खेलाडीलाई भविष्यमा कति समयका लागि निलम्बन गरिने हो टुंगो लाग्न बाँकी छ । कुवेतविरुद्ध भुटानमा हुने खेलमा चार भरपर्दा खेलाडीविना खेल्नुपर्दा नेपाल दबाबमा पर्नसक्छ । तैपनि, अनुशासनको कारबाही गर्न एन्फा नचुकेकोमा प्रशंशा भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्