Logo

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा



काठमाडौं, ०२ मंसिर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो ।

यी कलेजले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको जानकारी स्रोतले दिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई थाहा दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३/३ सदस्य टोली कलेजमा पठाएको थियो ।

कलेजहरूमा छापा मारेर विभागको टोली फर्किएको जानकारी एक प्रमुख जिल्ला अधिकारीले कान्तिपुरसँग दिए । विभागले मुलुकभरका निजी मेडिकल कलेजका सञ्चालक र उच्च तहका कर्मचारीहरुका तीनपुस्ते नातेदारको सम्पत्तिमाथि छानबिन थालेको छ । त्यसका लागि अनुसन्धान अधिकृतहरू तोकेर छानबिन भइरहेको छ ।

छानबिनका क्रममा नोबेल, नेसनल र चितवन मेडिकल कलेजले विवरण लुकाएकाले विशेष टोली पठाएर कागजात जफत गर्नुपरेको जानकारी विभाग स्रोतले दिएको छ । ‘ती कलेजले विवरण लुकाउने सम्भावना उच्च देखियो, माग गर्दा दिएनन्, त्यसैले टोली पठाएर कागजात लिएका हौं, लुकाएका अधिकांश कागजात बरामद भएको खटिएका टोलीहरूले जनाएका छन्,’ स्रोतले भन्यो ।

राष्ट्रिय सतर्कता केन्द्रको १२ मेडिकल कलेज माथिको छानबिन प्रतिवेदन, प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयको पत्रका आधारमा विभागले संचालकहरूको सम्पत्ति र लगानीमाथि छानबिन सुरु गरेको हो । ‘मेडिकल कलेजका संचालकको फटाइँलाई प्राथमिकताका साथ विभागले छानबिन गरिरहेको छ,’ विभागका एक अधिकारीले भने ।

निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी संचालक रहेको नेसनल, महासचिव सुनिल शर्मा संचालक रहेको नोबेल र हरिशचन्द्र न्यौपाने अध्यक्ष रहेको चितवन मेडिकल कलेजमा विभागले छापा मारेको हो ।

हालसम्म चितवन, पोखराको गण्डकी र ललितपुरको किष्ट मेडिकल कलेजका संचालक र उच्च तहका कर्मचारीको तीनपुस्ते नातेदारको विवरण संकलन गरेर ९० प्रतिशतभन्दा बढी छानबिनको काम सकिइसकेको विभाग स्रोतको भनाइ छ । प्रमाण लुकाउने मेडिकल कलेजमा छानबिन गरेर प्रमाण जुटाउने विभागको तयारी छ । अधिकांश कलेजले एमबीबीएस, बीडीएसलगायत चिकित्सा शिक्षाका विषय अध्ययनरत विद्यार्थीबाट सरकारले तोकेभन्दा लाखौं अतिरिक्त रकम उठाउँदै आएका छन् ।

विद्यार्थीबाट उठाएको रकममा कलेज सञ्चालकहरूले कर छली गरेर गैरकानुनी आर्जन गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । केन्द्रले नोबेले मेडिकल कलेजले ३५ करोड ४७ लाख, नेसनलले ३२ करोड ५५ लाख अतिरिक्त रकम उठाएको जनाएको छ । विभिन्न छानबिनका क्रममा सबै मेडिकल कलेजले कुनै न कुनै रूपमा अवैध शुल्क उठाउने गरेको भेटिएको थियो । १२ मेडिकल कलेजमाथि गरिएको छानबिनमा ४ वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ अतिरिक्त शुल्क उठाएको पाइएको छ ।

त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएका हुन् । सरकारले बढि लिएको शुल्क फिर्ता गर्न पटक/पटक गरेको ताकेतालाई कलेजहरूले अटेरी गर्दै आएका छन् । कलेज संचालकहरुले शुल्क फिर्ता गर्नुपरे विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले शुल्क फिर्ता नगरे जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अघि बढाउन गृहमन्त्रालयलाई पत्राचार गरिसकेको छ । विभिन्न मेडिकल कलेजका विद्यार्थी शुल्क फिर्ताको माग राख्दै १० महिनादेखि आन्दोलनमा छन् ।

कलेजले ठगी गरेको पैसा फिर्ता गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने बताएका छन् ।

विश्वविद्यालयका कुलपति र चिकित्सा शिक्षा अयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले मेडिकल कलेजको अवैध शुल्कका विषयमा पहिलोपटक टिप्पणी गर्दै बढी शुल्क फिर्ता गर्नुपर्ने बताएका हुन् ।

युवा संघको प्रथम भेलामा बोल्दै प्रधानमन्त्रीले मेडिकल कलेजहरू नियम, कानुन भित्र बस्नुपर्ने बताए । ‘अनुचित ढंगले लिएको, ठगी गरेर लिएको र गोप्य तरिकाले लिएको पैसा फिर्ता गर्नुपर्छ,’ उनले दोहोर्‍याउँदै थपें, ‘सरकारलाई छक्काएर लिएको पैसा फिर्ता हुनैपर्छ ।’

मेडिकल कलेज नाफामा हुँदाहुँदै विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क लिएकोमा उनले असन्तुष्टि प्रकट गरे ।

‘भर्खर खुलेका मेडिकल कलेज पनि नाफामा छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ, सबै कुराको हिसाब राखेको छ ।’ सत्ताको संरक्षणमा कलेजहरूले बढी पैसा लिएको भन्ने सञ्चार माध्यममा आएका समाचार झुटो रहेको उनको दाबी थियो ।
कान्तिपुर राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्