Logo

गर्भपतनको औषधि बिक्री गर्नेमाथि मुद्दा



काठमाडौं, २ मंसिर । गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए । प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउन औषधि खाएकी थिइन् । औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्‍याएका थिए । शौच गर्न पुगेकी युवतीले त्यहीँ पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन् । मृत शिशु फेला परेपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा उनीसहित तीन जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ । ती युवक स्थानीय एक स्कुलको कक्षा १० मा अध्ययनरत हुन् । कानुनले बन्देज गराएको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मी पनि स्थानीय सरकारी स्वास्थ्य संस्थामा अहेव पदमा कार्यरत रहेको प्रहरी उपरीक्षक आचार्यले बताए । सबैको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी ‘गर्भ संरक्षणविरुद्ध’ मुद्दा चलाइएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए । स्वास्थ्यकर्मीलाई गर्भपतन गराउन मतियारको भूमिका खेलेको अभियोग छ । गर्भवती महिलाको मञ्जुरीमा स्वास्थ्यकर्मीले १२ सातासम्मको गर्भपतन गराउन सक्ने कानुनमा व्यवस्था छ ।

मुलुकी अपराध संहिता २०७४ को फौजदारी कार्यविधि संहितामा गर्भपतन नगराए महिलाको ज्यानमा खतरा पुग्नेसहित विशेष कारणबाहेक गर्भपतन गराउन नपाइने उल्लेख छ । त्यसबाहेक गर्भपतन गराएमा कानुनी सजाय हुने व्यवस्था छ । जसअनुसार १२ साताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रावधान छ । कसुर ठहरेमा उनीहरूलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवेदीले बताए ।

अन्नपूर्ण पोष्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्