Logo

‘आइ लभ यु’ भन्ने धेरै आए- सुजाता बर्मा, गायिका



काठमाडौं, २ मंसिर । नेपालमा शास्त्रीय संगीतको गायन विधामा ख्यातिप्राप्त नाम हो सुजाता बर्मा । उनले ६ वर्षको उमेरमै शास्त्रीय संगीत सिक्न थालेकी थिइन् । बर्माले ११ वर्षकै कलिलो उमेरमा एल्बम निकालिसकेकी थिइन् । ‘ए दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा…’ बोलको गीत गाएर चर्चा बटुलेकी सुजातासँग कालिका महतले गरेको कुराकानी ः
संगीत क्षेत्रमा कहिलेबाट लाग्नुभयो ?
– मैले थाहा पाएदेखि नै हो । सानोमा रुँदा पनि संगीतमै रुन्थेँ रे, मेरो हजुरआमाले भन्नुहुन्थ्यो । सुतिरहेको बेलामा पनि रेडियोमा गीत बज्नासाथ उठेर नाचिहाल्ने बानी थियो रे मेरो ।
शास्त्रीय संगीततिर कसरी आकर्षित हुनुभयो ?
– मेरो पारिवारिक माहोल नै संगीतमय थियो । मेरो बुबा विनय वर्मा शास्त्रीय संगीतको प्रशिक्षक हुनुहुन्छ । दाइ तवलावादक हुनुहुन्थ्यो । जसले गर्दा मेरो शास्त्रीय संगीतप्रतिको रुचि झांगिएको हो ।
शास्त्रीय संगीत कहाँ सिक्नुभयो ?
– पहिला त मेरो बाबासँगै हो । त्यसपछि सिर्जना कलेज अफ फाइनआर्टमा कक्षा १२ सम्म शास्त्रीय संंगीत विषय पढेकी हुँ ।
ब्याचलर्स र मास्टर्स डिग्री कहाँबाट गर्नुभयो नि ?
– मैले शास्त्रीय संगीतमा ब्याचलर्स र मास्टर्स डिग्री भारतीय दूतावासको छात्रवृत्तिमार्पmत भारतको कोलकाताबाट गरेकी हुँ ।
नेपालमा शास्त्रीय संगीतको पढाइ थिएन ?
– नेपालमा पनि राम्रा संगीत विद्यालयहरू छन् । तर, त्यतिबेला मलाई भारतीय दूतावासबाट छात्रवृत्तिको अवसर जुट्यो । मैले छात्रवृत्तिमै मास्टर्स डिग्रीसम्म अध्ययन गर्ने मौका पाएँ ।
भारतमा शास्त्रीय संगीतको अध्ययन गर्ने अवसर कसरी जुट्यो ?
– भारतीय दूतावासको पहलमा हरेक वर्ष देशैभरिबाट प्रतिस्पर्धीबीच स्वर परीक्षा लिइन्छ । जसबाट तोकिएको सिटभित्र उत्तीर्ण हुनेहरूलाई छात्रवृत्तिको अवसर दिइन्छ ।
नेपालबाट कतिजनाले यो अवर पाउँछन् ?
– देशभरबाट बढीमा पाँचजनाले भारतीय दूतावासबाट संगीतको एउटा विधामा छात्रवृत्तिको अवसर पाउँछन् जस्तो लाग्छ । त्यो मेरो लागि ठूलो अवसर थियो, त्यसभित्र पर्न सफल भएँ । त्यसमा संगीतकै कुरा हुन्थे । मेरो त कलेजको पढाइभन्दा बढी पारिवारिक वातावरणले सिद्धहस्त बनाएको थियो । मेरो लागि त्यो खासै गाह्रो भएन ।
भारतमा अध्ययनका लागि कति वर्ष बस्नुभयो ?
– शास्त्रीय संगीत पढाइ र सिकाइको सिलसिलामा भारतको कोलकातामा पाँच वर्ष बसें ।
पढाइ सकेपछि भारतमै अवसरको खोजी गर्नुभएन ?
– मलाईं त्यहाँको सीप र क्षमता ल्याएर नेपालमै केही गर्ने इच्छा थियो । त्यसैले अवसर र इच्छाशक्तिले प्राप्त गरेको ज्ञान र सीप लिएर नेपाल फर्किएँ ।
नेपालमा आएर के गर्दै हुनुहुन्छ ?
– मैले पहिला जुन कलेजबाट संगीतमै ११, १२ पढेकी थिएँ । त्यही कलेजमा शास्त्रीय संगीतको प्रशिक्षण गराउँदैछु । एक वर्षदेखि पढाइरहेकी छु ।
कलेज पढाउने बाहेक के गर्नुहुन्छ ?
– अहिले बाबाले सञ्चालन गर्नुभएको चाबहिलस्थित श्रुतिसंगीत स्कुलमा शास्त्रीय संगीत सिकाउँछु । त्यसबाहेक गीत रेकर्डिङको काम गर्छु ।
शास्त्रीय संगीतको विद्यार्थी, कस्तो खालको गीत गाउनुहुन्छ ?
– सामान्य खालको गीत पनि गाउँछु । खासगरी आधुनिक गीत गाउँछु ।
अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?
– मैले ६० भन्दा बढी गीतमा स्वर दिइसकेकी छु ।
आपैmले एल्बम निकाल्नुभएको छ ?
– निकालेकी छु । मैले ११ वर्षकै उमेरमा शास्त्रीय संगीतको एल्बम निकालेकी थिएँ । त्यसपछि भजन र आधुनिक गीतका एल्बम निकालेकी छु । अब छिट्टै नयाँ एल्बम आउने तयारीमा छ ।
कुन गीतमा न्याय गरेजस्तो लाग्छ ?
– मेरो चलेको गीत ‘हिलो लाग्ला नाइनलको साडीमा…’ हो । अहिलेसम्म गाएकोमध्ये यसमा मैले न्याय गरेँजस्तो लाग्छ ।
भविष्य शास्त्रीय संगीतमै देख्नुभएको छ ?
– अहिलेसम्म यसैमा लागि परिएको छ । मैले योभन्दा बाहेक अरु सोचेकै छैन ।
शास्त्रीय संगीतभित्र अभैm अध्ययन बाँकी छ ?
– मैले शास्त्रीय संगीतमा मास्टर्स गरेँ । शास्त्रीय संगीतमै पीएचडी गर्ने इच्छा छ । शास्त्रीय संगीत आफैमा एउटा अत्यन्तै कठिन विधा हो, जुन धेरै वर्षको साधनापछि मात्र आउँछ । त्यसैले यसमा विद्यावारिधि गर्नेको संख्या थोरै छ ।
गीतसंगीतको भविष्य कस्तो छ ?
– पहिलाको भन्दा राम्रो छ । कुनै पनि क्षेत्रमा सफल हुन संघर्ष त गर्नै पर्छ त्यस्तै यो क्षेत्रमा पनि निरन्तर संघर्ष गर्न सके भविष्य एकदम राम्रो छ । निश्चित रूपमा अहिले धेरै कलाकारहरूको आर्थिक हैसियत राम्रो छ
महिला कलाकारलाई यस क्षेत्रमा संघर्ष गर्न गाह्रो हुन्छ भनिन्छ नि ?
– सबै त नभनौं धेरैलाई गाह्रो छ । गीत गाउँनकै लागि पनि घरदेखि बाहिर भनौ विदेश जाँदा अथवा देशमै पनि कार्यक्रमा जाने अवसर पाउन गाह्रो छ ।
कार्यक्रमा जाँदा कुनै अप्ठ्यारो भएको छ ?
– मलाई त अहिलेसम्म खासै अप्ठ्यारो भएको छैन । मेरो शास्त्रीय संगीतको विधा भयो । यस क्षेत्रलाई बुझने स्रोताहरूको नेपालमा कमी छ, तर बुझ्ने दर्शकबाट अहिलेसम्म प्रशंसा नै पाएको छु ।
कलाकार बन्न जन्मसिद्ध हुनुपर्छ ?
– जन्मसिद्ध भएर पनि यदि मानिसले निरन्तर साधना गर्न सकेन भने ऊ असफल हुन्छ ।
शास्त्रीय सगीतबाट जीविकोपार्जन हुन्छ ?
– बाँच्न त्यति सहज छैन, तर विस्तारै यसको महत्व बुझने मानिसहरू बढ्दै छन् र निकट भविष्यमा अवश्य पनि यहि विधा अंगाली बाँच्न सकिन्छ भन्ने कुरामा मेरो विश्वास छ ।
पर्यटन प्रवद्र्धनमा कलाक्षेत्रको भूमिका हुन्छ ?
– कला भनेको पर्यटन प्रवद्र्धन गर्ने माध्यमहरूमध्ये एउटा सशक्त माध्यम हो । नेपालका कलाकारहरू विदेशमा सांस्कृतिक प्रोग्राम लिएर जान्छन् । उनीहरूले त्यहाँ नेपालको सांस्कृतिक पहिचान झल्किने कार्यक्रम प्रस्तुत गर्दछन्, जसले विदेशी पर्यटकहरूलाई नेपालप्रति आकर्षित गर्छ ।
विवाह गर्नुभयो त ?
– गरेको छैन । घरपरिवारबाट दबाब आइरहेको छ ।
कलेज पढ्दा कसैले ‘आई लभ यु’ भनेन ?
– एकतर्फी रूपमा भन्नेहरू थिए, मैले त्यतातिर ध्यानै दिइनँ ।



प्रतिक्रिया दिनुहोस्