Logo

मन्त्री बन्ने इच्छा छैन- देवप्रसाद गुरुङ, नेता , नेकपा



काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ स्पष्ट बोल्छन् । उनले मन्त्रिमण्डल पुर्नगठनबारे एनआरएन रेडियोको नेपाली बहसमा ऋषि धमलासँग महत्वपूर्ण कुराकानी गरेका छन् ।
आज मन्त्रिमण्डल फेरबदल हुन्छ ?
मन्त्रिमण्डल फेरबदलको कुरा प्रधानमन्त्रीको अधिकारको कुरा हो । उहाँले आवश्यकता अनुसार जुनसुकै बेला पनि फेरबदल गर्न सक्नुहुन्छ ।
आजै पुनर्गठन हुन्छ मन्त्रिमण्डल ?
प्रधानमन्त्रीकै अधिकारमा भरपर्ने हुनाले म यसै हो भन्न सकिँदन । तर, मिडियाहरुमा फेरबदलकै कुरा बढी आएका छन् । कहिले गर्नुहुन्छ ठ्याक्कै भन्न सकिएन । उहाँ उपचारको लागि बाहिर जानुभन्दा अगाडि फेरबदल गर्ने संकेत देखिएको छ ।
अब हुने पुनर्गठनमा को को मन्त्री बन्लान् ?
त्यो त नेताहरुको छनोटमा भर पर्ने विषय हो ।
तपाईं यसपालि मन्त्री बन्नुहुन्छ कि हुन्न ?
मेरो त्यस्तो इच्छा होइन । नेताहरुको छनोटमा को पर्छ, को पर्दैन उहाँहरुको इच्छा हो ।
त्यसोभए प्रधानमन्त्री ओली र नेता प्रचण्डले नाम तय गर्नुहुन्छ होइन ?
अहिले पार्टीभित्र एकीकरण प्रक्रियाको अभैm पनि संक्रमणकालीन अवस्था भएको हुनाले सायद दुईजना अध्यक्षबीचको परामर्शबाटै तय हुनसक्छ ।
मन्त्रिमण्डल पुनर्गठन आजै हुनसक्छ ?
हिजो सचिवालय बैठकले त्यसको संकेत दिएको छ । तर, कहिले गर्नुहुन्छ, त्यसमा कस–कसलाई परिवर्तन गर्नुहुन्छ त्यो प्रधानमन्त्रीकै स्वनिर्णयमा भरपर्ने भएकाले थप भन्न सकिँदैन ।
अब कार्यकारी अध्यक्ष प्रचण्डलाई र कार्यकारी प्रधानमन्त्री ईश्वर पोखरेललाई दिने कुरा सत्य हो ?
सर्वप्रथम त दुईजना अध्यक्ष भएको पार्टीमा एकको अनुपस्थितिमा अर्कोले अध्यक्षता गर्ने कुरा नौलो होइन । प्रधानमन्त्रीको कुरामा पनि उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्रीले कार्यकारी चलाउने कुरा स्वभाविक प्रक्रिया भित्रैपर्छ । प्रधानमन्त्री नभएको बेला उपप्रधानमन्त्रीले कार्यकारी चलाउने संवैधानिक व्यवस्था पनि छ ।
पार्टी सञ्चालनका लागि प्रचण्डले सबै अधिकार पाउनुहुन्छ ?
दुईजना अध्यक्ष भएको ठाउँमा एकजनाको अनुपस्थितिमा अर्कोले अध्यक्षता गर्ने कुनै नयाँ विषय नै होइन । कि उहाँ अध्यक्ष नै हुँदैन भन्नुपर्यो । अध्यक्ष हो भने त स्वतः हुने कुरा हो ।
प्रधानमन्त्रीले भारतलाई आफ्ना सेना कालापानीबाट फर्काउ भन्नुभएको त्यो सम्भव छ ?
भारतले नयाँ नक्सा बनाउने क्रममा विवादित नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेर जसरी आफ्नोमा पारेको छ । सन् २०६२ देखि कालापानीमा भारतीय जसरी तैनाथ गरिएको छ । त्यहाँबाट भारतीय सेना हटाउनका लागि कुटनीतिक तहबाटै पहल गर्नुपर्छ । त्यसबाट भएन भने त्यसबेला अन्य विकल्पको खोजी गर्नुपर्छ । अहिले जतिपनि सिमाविवाद देखिएका छन् तिनका हल कुटनीतिक तहबाटै खोजिनुपर्छ भन्ने लाग्छ । File Photo



प्रतिक्रिया दिनुहोस्