Logo

मेडिक कलेज संचालक र सरकारबीच लडाईं : होला त शुल्क फिर्ता ?



काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बढि शुल्क लिएका मेडिकल कलेजलाई पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको कात्तिक २४ गते हो । मंसिर १ गते फेरी प्रधानमन्त्री केपी ओलीले विद्यार्थीबाट ठगी गरेको रकम सरकराले फिर्ता गराएरै छाड्ने मात्रै भनेनन्, बढी शुल्क लिएका मेडिकल कलेजलाई लामखुट्टेको संज्ञा समेत दिए । ओलीले अभिव्यक्ति दिएकै दिन सम्पत्ति शुद्धिकरण विभागले केही मेडिकल कलेजमा छापा मार्यो । तर मेडिकल शिक्षा क्षेत्रको विकृति अन्त्य हुनेमा विश्वस्त हुन सक्ने अवस्था भने छैन ।

मन्त्री पोखरेलले दिएको पछिल्लो अल्टिमेटम दोस्रो पटक हो । यसबाट स्पष्ट हुन्छ की सरकारको अल्टिमेटमलाई मेडिकल माफियाहरुले लत्याइरहेका छन् । यसपटकको अल्टिमेटम दिएको समयसिमा पनि सकिन लाग्यो । समय सकिएपछि मन्त्री पोखरेलले भने झैँ बढि शुल्क लिने कलेजहरुमाथि सरकारले ठगी मुद्धा चलाउने हिम्मत गर्छ या गर्दैन त्यो भने हेर्न बाँकी छ ।

यसैबीच प्रधानमन्त्री ओलीसमेत मेडिकल कलेजहरुसँग रुष्ट देखिएका छन् । ओलीले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट अवैध रुपमा उठाएको अतिरिक्त शुल्क फिर्ता गरेरै छाड्ने आश्वासन दिएका हुन् । आइतबार एक कार्यक्रममा प्रधानमन्त्री मेडिकल कलेजहरुविरुद्ध आक्रोषित हुँदै तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई लामखुट्टेको संज्ञा समेत दिए ।

यसरी प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण भइसकेपछि अब चिकित्सा शिक्षा क्षेत्रमा हुने गरेका बेथिति नियन्त्रण हुन्छ कि भन्ने अपेक्षा गर्न सकिन्छ । प्रधानमन्त्रीले मेडिकल कलेजहरुप्रति आक्रोष पोखेकै दिन सम्पत्ति शुद्धिकरण विभागले तिनवटा मेडिकल कलेजमा छापा मारेको पाइएको छ । तर यस विषयमा विभागले मुख खोलेको छैन ।

सम्पत्ति शुद्धिकरण विभागका सुचना अधिकारी विनोद लामिछाने

भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजमा विभागले छापा मारेको विषयमा जिज्ञासा राख्दा सम्पत्ति शुद्धिकरण विभागका सुचना अधिकारी विनोद लामिछानेले जानकारी दिन नमिल्ने बताए । तर विभागले ठगी गर्ने जुनसुकै व्यवसाय वा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने जिकिर भने गरेको छ ।

विगतमा सरकारलाई अटेर गर्दै आएका मेडिकल कलेज संचालहरुलाई यसपटक अल्टिमेटम नै दिइएपछि चर्चा र विवाद चुलिएको छ । मेडिकल कलेजहरुले विद्यार्थीसँग सरकारले तोकेभन्दा बढि शुल्क लिएको भन्दै ठगी मुद्घा चलाउने सरकारको योजना छ । तर मेडिकल कलेज संचालकको दादागिरि यति सजिलै अन्त्य हुनेमा भने आशंका नै छ ।



प्रतिक्रिया दिनुहोस्