Logo

सर्वोच्चको आदेश लत्याउँदै काठमाण्डौ महानगर, सहर कुरुप



काठमाण्डौ । सर्वोच्च अदालत नेपालको सबैभन्दा ठूलो न्यायिक अंग हो । सवोच्चले सानादेखि ठूला र महत्वपूर्ण विषयमा फैसला र आदेश दिने गर्दछ । तर सर्वोच्चको आदेशको सरकारी निकायले नै पालना गर्दैनन् । पालना नगर्ने मात्रै हैन, महत्वपूर्ण आदेशको खिल्ली उडाउने गरिएको छ ।

काठमाण्डौ महानगरपालिका धेरै असफल सरकारी निकायमध्ये एक अग्रपंक्तिमा आउने निकाय हो । जनताको आवश्यकताअनुसार काम गर्नुको साटो सार्वजनिक गरिएका प्रतिवद्धतासमेत लत्याइएको सर्वोच्च अदालतले दिएका कतिपय आदेशसमेत महानगरले पालना नगर्दा काठमाडौ सहर थप अव्यवस्थित भएको छ ।

अदालतले २०७२ साल भदौ १६ गते काठमाण्डौ महानगरभित्र जथाभावी राखिएका होर्डिङ बोर्ड अर्थात विज्ञापन सामग्री हटाउन आदेश दिएको थियो । तर महानगरले अदालतको आदेश नमान्दा अहिले पनि त्यस्ता विज्ञापन सामग्रीले काठमाण्डौ सहर कुरुप बनाएको छ । सर्वोच्चको आदेश किन पालना भएन भन्ने प्रश्नमा महानगरले गैरजिम्मेवार जवाफ दिएको छ ।

देशकै सर्वोच्च न्यायिक निकायको आदेशलाई महानगरले खिल्ली उडाएको छ भन्दा फरक नपार्ला । महानगरका प्रवक्ता इश्वरमान डंगोलले ठाडो शैलीमा सर्वोच्चको आदेश पालना गर्न नसकिने जवाफ दिएका हुन् ।

महानगरका प्रवक्ता इश्वरमान डंगोल

सर्वोच्चले होर्डिङ बोर्ड हटाउने आफ्नो पुरानो आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकालाई कात्तिक २८ गते फेरी साताको अल्टिमेटम दिएको थियो । यसपटकको अल्टिमेटमलाई पनि महानगरले गम्भीर रुपमा लिएको छैन । उपत्यकामा जथाभावी विज्ञापन बोर्ड राख्दा दृश्य प्रदुषण भएको र शहरको सौन्दर्य बिग्रिएको चिन्ता सरोकारवालाबाट व्यक्त हुँदै आएको छ ।

तर, महानगरले यसमा पटक्कै ध्यान दिएको देखिँदैन । अहिले पनि काठमाडौंको थापाथली, माइतिघर, त्रिपुरेश्वर, बानेश्वर लगायतका मूख्य चोककै छेउछाउमा ठूला–ठूला बोर्ड राखिएका छन् । पर्चा, पम्प्लेट पनि प्रशस्तै मात्रामा देख्न सकिन्छ । सर्वोच्चको आदेश नमाने पनि आफ्नै तरिकाले गैरकानुनी रुपमा राखिएका विज्ञापन सामग्री हटाउने गरिएको प्रवक्ता डंगोल बताउँछन् ।

आकाशे पुल तथा सडक छेउमा राखिएका ठूला बोर्डका विज्ञापनहरुले सडकमा आवत–जावत गर्ने यात्रु तथा सवारी–चालकहरुलाई नकारात्मक असर गर्ने सर्वसधारणको गुनासो छ । लामो समयदेखि काठमाडौंका मुख्य चोकहरुमा ठूला होर्डिङ बोर्डहरु निर्धक्कसँग ठडिएका छन् ।

स्मार्ट सिटी बनाउँछु भनेर प्रतिवद्धता व्यक्त गरेका महानगरका मेयर विद्यासुन्दर शाक्य यस्ता महत्वपूर्ण काममा भने बेखबर बनेर बसेका छन् । देशैकै सबैभन्दा धेरै जनघनत्व रहेको काठमाण्डौ महानगरभित्र धेरै बेथिति छन् । तिको अन्त्यका लागि महानगर गम्भीर बन्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्