Logo

एउटा अभियुक्तको खुलेआम मान्छे मार्ने धम्की (भिडियोसहित)



काठमाण्डौ । रौतहट बमकाण्डको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद महमद अफ्ताव आलमले जिल्लामा आगो लगाउने धम्की दिएपछि चौतर्फी चर्चा र विरोध भइरहेको छ । दुई मिनेट १८ सेकेण्डको भिडियोमा पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालतको आदेशपछि आक्रोशित भएका आलमले प्रहरीकै सामुन्ने अशान्ति फैल्याउने र प्रहरीलाई नै हत्कडी लगाउने चेतावनी दिएका छन् ।

ललितपुरको नख्खु कारागारमा ल्याउनुअघि आलमले आफनो बिरुद्धमा लाग्नेलाई मार्नेसम्मको धम्की दिएका छन् ।  १२ वर्षअघिको रौतहट बमकाण्डमा संलग्नको अभियोगमा गत असोज २६ गते पक्राउ परेका आलमले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा लैजाने क्रममा पनि धम्की दिएका थिए ।

हेर्नुहोस् भिडियो :

गाडीको अगाडि सिटमा बसेका आलमले प्रहरी तर्फ औला ठड्याउदै र हात बजार्दै आलमले एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउनेसम्मको धम्की दिएको यो भिडियोले राजनीतिको आडमा नेता र सांसदले जे पनि गर्छन भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ताको कार्यालय, रौतहटले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २९ गते न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिएको थियो ।

आदेश लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता खडिन्द्रराज कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आएका थिए । पहिलो संविधानसभाको निर्वाचन ताका २०६४ सालमा आलमले बुथ कब्जा गर्ने मनसायले बम बनाउन लाग्दा बम विष्फोट भई घाइते भएकालाई जिँउदै जलाएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्