Logo

मन्त्री हटाउने र बनाउने सूचीबारे ओली-प्रचण्डको आ-आफ्नै अडान



काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि अर्का अध्यक्ष प्रचण्डसँग सोमबार तीन घन्टा लामो छलफल गरेपनि निष्कर्ष निस्किएन । मन्त्रिहरुको टुंगो लगाएर अगाडि बढ्न ओली तयार भइसकेको अवस्थामा केही नामबारे प्रचण्ड र ओली दुवैको असहमति देखिएको बुझिएको छ ।

ओलीले सरकार संचालनका लागि सहयोगी मानिएका महत्वपूर्ण मन्त्रालयमा आफू अनुकूलको व्यक्ति चयन गर्न खोजेपनि प्रचण्डले हाल जिम्मेवारीमा रहेका महत्वपूर्ण मन्त्रालयमा टसमस हुन चाहेनन् । स्रोतका अनुसार ओलीले गृह, अर्थ र भौतिक मन्त्रालयमा नयाँ अनुहार ल्याउन चाहेका छन् । तर, प्रचण्डले गृहमा आफू निकटकालाई नै राख्ने अडान छाडेनन् ।

स्रोतका अनुसार ओलीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी वामदेव गौतमलाई र अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिनेगरी प्रस्ताव राखेका छन् । प्रचण्डले गृहमा आफू निकटस्थलाई नै राख्ने अडान छाडेका छैनन् । उनले रामबहादुर थापा बादलको निरन्तरता या आफ्नै पक्षबाट अर्को व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रीमण्डलबाट कति जनालाई हटाउने र कति जना नयाँ ल्याउनेबारे समेत दुवै नेताबीच छलफल भएको छ । प्रचण्डले केही मन्त्रीको पक्षमा अडान लिएका छन् । ओलीले पनि केही मन्त्रीहरुको नाममा अडान कसेको बुझिएको छ । केही मन्त्री बाहेक अधिकांशलाई हटाएर नयाँ अनुहार ल्याउने पक्षमा ओली रहेका छन् ।

मन्त्रिमण्डलमा पुर्नगठन गर्दा आफ्ना निकै नजिककाहरु समेत हट्नसक्ने र त्यसले आफूलाई राजनीतिक धक्का पुग्नसक्नेतर्फ प्रचण्ड सचेत भएका छन् । त्यसैले उनले आफ्ना पक्षका केही मन्त्रीहरुको पक्षमा अडान लिएका छन् । विशेषगरीः गृहमन्त्री बादल र ऊर्जामन्त्री वर्षमान पुनको पक्षमा प्रचण्ड अडिएका छन् । ओलीले पनि इश्वर पोखरेल, प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटाको पक्षमा अडान लिएका छन् ।

मन्त्रीका लागि धेरै आकांक्षी रहेको र दुवै अध्यक्षलाई मन्त्री बन्न पाऊँ भनी लबिङ गरेबाट ओली र प्रचण्ड दबाबमा परेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्