Logo

अर्थसचिवको सेटिङमा सरुवा



काठमाडौं, २ मंसिर । अर्थमन्त्रालयले गतसाता ६० उपसचिवहरुको पदस्थापन गरेको छ । प्रशासनिक नेतृत्वले ऐन अनुसार असोज १५ भित्र कर्मचारीहरुको पदस्थापन गर्न नसक्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर अर्थ मन्त्रालयले सरुवा गरेको छ ।

उपनिर्वाचनपछि मात्र लागू हुनेगरी अर्थमन्त्रालयले निकालेको सरुवामा अर्थसचिव राजन खनालले आफ्ना निकट उपसचिवहरुलाई आकर्षक भन्सार र कर कार्यालयमा सेट गर्न सफल भएका छन् । सचिव खनालको बानेश्वरस्थित घरका छिमेकी शिव भण्डारीलाई उनले सर्वाधिक आकर्षक बिराटनगर भन्सार कार्यालयको प्रमुखमा पदस्थापन गरेका छन् । बिराटनगर भन्सार कार्यालयमा बसेका मिमांस अधिकारी र कृष्ण बस्नेतले तस्करीको लाइन चलाएर कुस्त कमाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको सम्पत्ति छानबिन गरिरहेको छ ।

आन्तरिक राजस्व कार्यालय ललितपुरका प्रमुख लालबहादुर खत्रीलाई तातोपानी भन्सारको प्रमुखमा सरुवा गरिएको छ । जुन सरुवा विवादमा परेकाले खत्रीलाई पत्रसमेत नदिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । ललितपुर आन्तरिक राजस्व कार्यालय आकर्षक मानिन्छ । तातोपानी भन्सार पहिलेजस्तो कमाइका हिसाबले आकर्षक नभए पनि दुर्गमको नम्बर पाउने तर काठमाडौंबाट नजिक भएकाले त्यहाँ जान उपसचिवहरुबीच हानथाप हुने गरेको छ ।

अर्थसचिव खनाल २०७६ माघ २२ मा अवकाश हुने भएकाले जाँदाजाँदै कर र भन्सारमा २ बर्षका लागि आफ्ना निकट कर्मचारी सेट गर्न सफल भएका छन् । अर्थ मन्त्रालयले भद्रपुर आन्तरिक राजस्व कार्यालयमा युवराज श्रेष्ठ, बिराटनगरमा बिमल सापकोटा, धरानमा तीर्थराज बराल, कालिमाटीमा चुडाराज सापकोटा, तारा सापकोटा कलंकी, नारद गौतम महाराजगंज, हरि बस्याल चावहिल, ऋषि पोखरेल पोखरा, धु्रवराज ज्ञवाली बुटवलमा सरुवा गरेको छ । यी कर कार्यालय आकर्षक मानिन्छन् । बिराटनगरपछि आकर्षक भन्सार कार्यालयमा गनिने मेची भन्सार कार्यालयको प्रमुखमा धु्रवराज विश्वकर्मा सरुवा भएका छन् ।- दृष्टि बाट



प्रतिक्रिया दिनुहोस्