Logo

जीर्ण भवन पैदलयात्रीका लागि खतरा



काठमाडौँ, मङ्सिर ३ । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुण यन्त्र रहेको भवन जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । वसन्तपुर–हनुमानढोका आवतजावत गर्ने सडकपेटीसमेत रहेको यहाँ दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ । विदेशी पर्यटकसमेत निरन्तर आवतजावत गर्ने सडकपेटी जीर्ण भवनसँगै रहेपछि यात्रुहरू डराएर हिँड्नु परेको छ ।
वारुण यन्त्र कार्यालयका अनुसार चार वर्षअघिको भूकम्पले राणाकालीन भवन जीर्ण बनेको हो । समयमा भवन पुनःनिर्माण नहुँदा पैदलयात्री समेतलाई खतरा भएको हो ।
वारुण यन्त्र कार्यालयका प्रमुख लीलाराज गाछामगर भन्नुहुन्छ, “खै कहिले भवन पुनःनिर्माण हुन्छ पत्तै छैन । ” उहाँका अनुसार भवन छिट्टै बनाउनुपर्ने अवस्थामा छ ।
पैदलयात्री नारायण श्रेष्ठ भन्नुहुन्छ, “स्वदेशीमात्र होइन, विदेशी पर्यटकसमेत हिँड्ने सडकपेटीमा जीर्ण भवनको इँटा खसेर बटुवालाई लाग्ने त्रास छ, नयाँ सडकमै यो हालत छ, के गर्ने ?” जुद्धशमशेरले राणाकालमा बनाएको यो भवन इतिहासमा जुद्ध वारुण यन्त्रका नामले चर्चित छ । यो भवन सुर्की चुनासहित बज्र जोडाइले बनाइएको आकर्षक भएकाले सोही वास्तुकला कायम राख्दै यसको पुनःनिर्माण हुनुपर्ने पदैलयात्री श्रेष्ठको भनाइ छ ।
प्रमुख गाछा मगर भने भवन कहिले पुनःनिर्माण हुन्छ भन्ने यकिन नभएको बताउनुहुन्छ । मानिसको चहलपहल हुने व्यस्त स्थानमा रहेकोे भवनको सडकतर्फको भागमात्र होइन, पूरै भवन क्षतिग्रस्त छ ।
सो भवननजिकै रहेको सिद्धिचरण चोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही भन्नुहुन्छ, “वारुण यन्त्र भवनबाट भत्किएको गारोबाट इँटा झरेर लाग्ने भय त छँदै छ, साथसाथै नयाँ सडक र पर्यटकीय चहलपहल हुने स्थल अशोभनीय भएको छ । ”
काठमाडौँ महानगरपालिका भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार जुद्ध वारुण यन्त्र भवन निर्माणका लागि नक्सा बनाउने र भवनको नापजाँच गर्ने कार्य भएको छ तर कहिले बन्छ भन्ने यकिन छैन ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्