Logo

श्रम स्वीकृतिको सास्ती उस्तै



काठमाडौँ, ३ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । त्यसकै ‘लाइभ’ अन्नपूर्ण पोस्ट्को अड्डामा अन्नपूर्ण अंक २ मा प्रकाशन गरिएको थियो । ठीक एक वर्षपछि आइतबार अड्डामा अन्नपूर्णको टोली पुनः ताहाचल पुग्दा श्रम स्वीकृतिको सास्ती उस्तै भेटियो ।

समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि भन्ने चिन्तामा देखिन्थे । सरकारले प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरे पनि त्यसका लागि सेवाग्राही काठमाडौंमै आउने गरेको भेटियो ।

साँझ साढे ५ बजेको थियो, उदयपुरका छविन्द्रबहादुर मगर हतास देखिन्थे । घडी हेर्दै भन्दै उनी थिए, ‘बर्बादै भयो ।’ उनी आइतबारै साउदी अरब उड्नुपर्ने रहेछ । ‘आज ९आइतबार० राति १० बजेको टिकट हो । काम भएन भने त बर्बादै हुन्छ’, उनी साथीहरूसँग दुखेसो गर्दै थिए, ‘कति बेला काम हुन्छ अनि होटल पुगेर सामान लिई एअरपोर्ट जाऔं रु ’ उनी बिहान ११ बजे कार्यालय पुगेका थिए । झन्डै चार घण्टा त लाइन लागेर पासपोर्ट बुझाए । ‘अझै काम भएको छैन’, उनले भने ।

पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेदेखि नवीकरण गर्न आउनेको भीड थेगिनसक्नु थियो । अधिकांश नेपाली कामदार दसैंको समयमा स्वदेश आएर छठपछि फर्किने भएकाले श्रम स्वीकृति लिन भीड लाग्ने गरेको कर्मचारीले बताए । धनुषाका एक युवकले बुधबारदेखि कार्यालय धाइरहेको बताए । ‘चार दिन भयो, कामै भएको छैन’, २९ वर्षे ती युवकले भने, ‘कहिले के पुगेन भन्छन्, कहिले के, दुःख दिने काम मात्र भयो ।’ आफूसँग भएको १० हजार रुपैयाँ पनि सकिएको उनले सुनाए । काम नभए सडकमै सुत्नुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

बाराका अजय कुमार साँझ ५ बजेसम्म पनि काम नभएपछि कर्मचारीप्रति आक्रोश पोखिरहेका थिए । ‘बिहान ९ बजे आएँ । तीन घण्टा लाइन लागेर १२ बजे डकुमेन्ट बुझाएँ’, उनले भने, ‘भोलि ९सोमबार० बिहान १० बजेको उडान छ ।’ उनी नौ वर्षदेखि कतारमा काम गर्दै आएका छन् ।

साँझ कार्यालय समयपछि पनि कर्मचारी काममै थिए । श्रम स्वीकृतिको पर्खाइमा रहेकाहरूको भीड उस्तै थियो । काम नहुने हो कि भन्ने त्रासमा रहेका सेवाग्राहीलाई आश्वस्त पार्न कर्मचारी भन्दै थिए, ‘तपाईंहरूको काम राति १० बजेसम्म भए पनि आजै हुन्छ । चिन्ता नगर्नुस् ।’

दैनिक १ हजार जना श्रम स्वीकृति नवीकरण गर्न पुग्छन् । ५ सयको हाराहारीमा नयाँ श्रम स्वीकृति लिन पुग्ने गरेको कार्यालयले जनाएको छ । ‘धेरैजसो नेपाली कामदार दसैंमा घर आउँछन् र छठ सकिएपछि फर्किन्छन्’, निर्देशक सुरेश जोशीले भने, ‘धेरै कामदार एकै पटक फर्किंदा यहाँ कामको चाप बढेको हो । हामीले समय व्यवस्थापन गर्ने गरेका छौं ।’

आइतबार बिहान ७ बजे कार्यालय खुलेको उनले सुनाए । साँझ अबेरसम्म काम भइरहेको थियो । ‘हामीले उहाँहरूको हवाई टिकट हेरेर चाँडो काम गरिदिन्छौं’, उनले भने, ‘आजै टिकट भएकाहरूलाई प्राथमिकता दिन्छौं । काम सकिएन भने अर्को दिन लाइन नबसी काम गरिदिन्छौं ।’

सम्झौतापत्र नहुँदा झनै समस्या

कार्यालयमा भेटिएका अधिकांश सेवाग्राहीको साझा समस्या देखियो, ‘सम्झौतापत्र नहुनु ।’ श्रम स्वीकृति नवीकरण गर्न सरकारले रोजगारदाता कम्पनीसँगको सम्झौतापत्र अनिवार्य गरेको छ । कार्यालयले सम्झौतापत्र नभएकै कारण दुःख नदिने बताए पनि कर्मचारीले अनिवार्य भनेपछि सेवाग्राही मर्कामा परेका थिए ।

अन्नपूर्ण दैनिकबाट



प्रतिक्रिया दिनुहोस्