Logo

नेपालगञ्जका नगर सभापति जेल चलान



काठमाडौं,मंसिर ३ । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्