Logo

पाँच व्यापारीविरुद्ध ३८ करोडको मुद्दा



काठमाडौं, मंसिर ३ । मूल्य अभिवृद्धिकरको नक्कली कारोबार गरेको तथा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री गरेको भन्दै राजस्व अनुसन्धान विभागले ३८ करोड ३० लाख रुपैयाँ राजस्व छलीदाबीसहित झापा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

झापाको साकम्बरी प्रोडक्टविरुद्ध अन्तःशुल्क स्टिकरमा राजस्व छली गरेको जनाउदै विभागले ३६ करोड ५६ लाख रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको हो । उक्त कम्पनीका प्रोप्राइटर मुकेश शर्मासहित ६ जनाविरुद्व
मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार झापाको मेची नगरपालिका १४ मा रहेको साकम्बरीले गुट्खाजन्य वस्तु उत्पादन र बिक्री गर्दा अन्तःशुल्क स्टिकर नलगाई राजस्व छली गरेको फेला परेको हो।मुद्दामा उक्त रकम बराबरको बिगो दाबीसहित यसको दोब्बरसम्म जरिवाना लिने र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

काठमाडौंमा रहेको अम्बेल इन्टरप्राइजेजका प्रोप्राइटर विनिता दुवाडीमाथी पनि राजस्व चुहावट गरेको अभियोगमा एक करोड २८ लाख ७६ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो। दुवाडीलाई विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

दुवाडीको फर्मले वस्तु तथा सेवा खरिद नगरी झुटो तथा नक्कली भ्याट बिल खरिद गरेर राजस्व छली गर्दे आएका थिए । नक्कली भ्याटको प्रयोगका कारण उनले आयकरसमेत छली गर्द आएका थिए ।

यस्तै, सुसञ्जित इन्टरप्राइजेजका प्रोप्राइटर सरस्वती गौतमले नक्कली भ्याट बिल प्रयोग गरेर ४५ लाख ४५ हजार रुपैयाँ राजस्व छली गरेको भन्दैै विभागले ४५ लाख ४५ हजार बिगोसहित त्यसको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग राखेर मुद्दा दायर गरेको विभागले जनाएको छ ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्