Logo

ओलीका एडीसी शाहीलाई जुवाखालबाट पक्राउ गराउन इन्स्पेक्टरको सुराकी



काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीका पछिल्ला गतिविधिप्रति नेपाली सेनाले असन्तुष्टि व्यक्त गरेको छ । सेनालाई बदनाम गराउने गतिविधि प्रहरीले गरेको उच्च सैनिक अधिकारीहरुको आरोप छ ।

प्रधानमन्त्रीका एडीसी पक्राउ प्रकरणले सेना र प्रहरीबीच सम्बन्ध चिसिएको छ । गत १५ कात्तिकमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीका एडीसीको रुपमा कार्यरत मेजर राजेन्द्र शाहीलाई जुवाखालाट पक्राउ गरेको थियो । सामाखुशीस्थित एक साथीको घरबाट उनी पक्राउ परे ।

सुरुमा प्रहरीले सैनिक प्रहरीलाई बुझाएकोमा सेनाले उनलाई प्रहरीमै फिर्ता गरिदिएको थियो । जुवा मुद्दा प्रहरीले चलाएकोमा काठमाडौंका सीडीओ जनकराज दाहालले उनलाई २० हजार धरौटीमा छाड्ने आदेश गत मंगलबार दिएका छन् ।

पक्राउ परेलगत्तै प्रहरीले प्रधानमन्त्रीका एडीसी पक्राउ भनेर प्रचार गरेको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीकै सुरक्षामा कार्यरत एक इन्स्पेक्टरको योजनामा शाही पक्राउ परेको खुलेपछि सेना प्रहरीसँग रिसाएको थियो । ती इन्स्पेक्टर र मेजर शाहीबीच विवाद भएको र शाही बिदाको बेला साथीहरुसँग तास खेल्ने थाहा पाएपछि उनले नै पक्राउ गर्न लगाएका थिए ।

पक्राउ परेपछि प्रधानमन्त्रीको एडीसी भनेर प्रचार गरेकोमा सेनामात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रिसाएका छन् । सेनाले समेत यसबारे प्रधानमन्त्रीसँग गुनासो गरेको स्रोत बताउँछ ।

त्यस्तै आइतबार चितवनमा भएको घटनामा पनि सेना र प्रहरीबीच सम्बन्ध बिग्रिएको छ । सामान्य विवादमा पक्राउ परेका सेनाका सिपाहीको प्रहरी कार्यालयभित्र रहस्यमय मृत्यु भएको थियो । जहाँ प्रहरीले उनलाई यातना दिएको खुलेपछि सेनाले यसबारेमा समेत प्रधानमन्त्रीलाई गुनासो गरेको छ ।

त्यसो त सेना र प्रहरीबीचको विवाद लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समय सेनाले व्यापक रुपमा आन्तरिक सुधार गरेर छवि सुधार्दै गएको छ । तर, सानातिना विषयलाई उछालेर प्रहरीले सेनालाई बदनाम गराउने गरेको सैनिक अधिकारीहरु बताउँछन् । दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्