Logo

राजीनामा दिएर विदेशी संस्थामा जागिर खाएकी स्वास्थ्यसचिव चौधरी



काठमाडौं, ३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले दिएको राजीनामा अझै स्वीकृत भएको छैन । उनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कार्यालयमा पी फाइब लेभलको जागिरमा छानिएकी थिइन् । सहसचिवस्तरको उक्त जागिरमा छानिएकी उनले २०७६ कात्तिक ३ मै राजीनामा दिए पनि स्वीकृत भएको छैन । आकर्षक सेवा सुविधा पाउने भएपछि उनी सचिवको जागिर छाडेर डब्लुएचओमा गएकी हुन् ।

उनी राजीनामा नै स्वीकृत नभई विश्व स्वास्थ्य संगठनको कलकत्तास्थित कार्यालयमा दशैंपछि नै हाजिर भइसकेकी छन् । नेपाल सरकारको विशिष्ट श्रेणीको जागिरबाट राजीनामा स्वीकृत नभई उनी विश्व स्वास्थ्य संगठनको कार्यालयमा हाजिर हुन पुगेको स्रोतले बताएको छ । मन्त्रालयमा सचिव चौधरीको नमेप्लेट अझै छ । उनी अझै कानुनी रुपमा नेपालको स्वास्थ्य मन्त्रालयको सचिव हुुँदाहुँदै विश्व स्वास्थ्य संगठनमा हाजिर भएकी छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सचिव चौधरीको राजीनामा स्वीकृत नभएको जानकारी दिए । उनले भने–उहाँको राजीनामा स्वीकृत भएको छैन । तर उहाँ मन्त्रालय आउन छाडिसक्नु भएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयको कर्मचारी समायोजन अझै टुंगिन सकेको छैन । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयका कर्मचारीको समायोजन २०७६ चैत १४ गते नै टुंगो लगाएको थियो । तर स्वास्थ्य मन्त्रालयले समायोजनमा परेका कर्मचारीको गुनासो निवदेन लिने निर्णय गरेपछि झन् भद्रगोल भएको छ । २०७६ चैत १४ मा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका २७ हजार ३ सय २ जना कर्मचारी समायोजन भएको तथ्यांक सार्वजनिक गरेको थियो । कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेको जानकारी दिइएको थियो । दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्