Logo

नेपालीले विदेशमा लगानी गरेको सुन्दा प्रचण्ड दुःखी



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिनहुने बताएका छन् । मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘कतिपय व्यापारीहरु नेपालमा भन्दा पनि विदेशमा लगानी गर्न जानु भएको छ भन्ने सुनेँ यो दुःखद कुरा हो,’ उनले भने ।

जनतालाई सहज हुने ठाउँमा प्रदेश ५ को राजधानी बनाउनुपर्ने पक्षमा आफू रहेको उनको धारणा थियो । ‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’

अध्यक्षले तीब्र आर्थिक विकासका लागि बाँकी जीवन अर्पण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । केही समयभित्र लुम्बिनी पर्यटनको अग्रणी स्थान हुने सम्भावना रहेको भन्दै उनले आवश्यक पुर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता पनि जनाए । ‘पाँच वर्ष्भित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ अध्यक्ष प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्