Logo

विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण



काठमाडौँ, ४ मङ्सिर । विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ । गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो ।
परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा उत्साहजनक रूपमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ तर दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका अनुसार ठोस कार्यविधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको हो ।
“अलिकति प्रचारप्रसार र यसको प्रभावकारिताकै जानकारी नपुगेको हो कि भन्ने महसुस हामीलाई पनि भएको छ,” नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भन्नुभयो, “दर्ता भएपछि विज्ञहरूले काम गर्न चाहिरहेका छन् तर मेसो मिलेको छैन ।”
उहाँका अनुसार दुईवटा परियोजनामा दूतावासमार्फत ब्रेन गेन सेन्टरमा जोडिएकाले काम थालिसकेका छन् तर सबैलाई दूतावासमार्फत योजनामा जोड्न सकिने अवस्था छैन । कसरी, कुन निकायमा विज्ञ पठाउने भन्ने योजना बन्न भने बाँकी रहेको उनले प्रस्ट्याए ।
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग जोडिएका विकासका योजनासँगै निजी क्षेत्रसँग सहकार्य गरेर सेन्टरमा आएका विज्ञको सीप र विवेक प्रयोग गर्ने विषयमा थप योजना बनाउन पहल भइरहेको उहाँले औँल्याउनुभयो तर त्यसैमा केन्द्रित भएर मन्त्रालयले काम गर्न भने सकिरहेको छैन ।
परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँगको संयोजन, परियोजनाको सूची सङ्कलन गर्ने, विज्ञ प्रयोग गर्न सम्बन्धित क्षेत्रलाई प्रोत्साहित गर्ने लगायतका विषयमा गृहकार्य गर्न बाँकी रहेको छ । सरकारले स्थापना गरेको ‘थिङ्क ट्याङ्क’सँग जोडेर अगाडि बढाउने भन्ने योजनाले पनि त्यो ‘थिङ्क ट्याङ्क’ नै अलपत्र परेपछि थप अन्योल बढेको मन्त्रालयका अन्य अधिकारीहरू सुनाउँछन् ।

विज्ञताको आयाम
विदेशी भूमिमा आर्जित सीप, ज्ञान, दक्षतासँगै नेपालमा काम गर्ने अमिट चाहना बोकेका नेपालीले ब्रेन गेन सेन्टरमा आफूलाई दर्ता गराएका छन् । हालसम्म ६४६ जनाले नेपालमा केही गर्न चाहेको अपेक्षासहित अनुभवको फेहरिस्त निवेदनमा प्रस्तुत गरेका छन् ।
नेपालको कृषि, विकासका योजना, स्वास्थ्य, सरसफाइ, अटोमोबाइल, शान्ति सुव्यवस्था, नीति निर्माण, हाइड्रोपावर, सूचना प्रविधिको विकास, अनुसन्धान र अन्वेषण गर्नसक्ने क्षमता दर्ता भएकाले प्रस्तुत गरेका छन् । पछिल्लो ५० जनाको सूची हेर्दा मात्र पनि आधुनिक नेपाललाई समृद्ध बनाउने गुणस्तरीय सीप र योग्यताको पूर्ति ब्रेन गेन सेन्टरबाट हुन सकिने देखिन्छ ।
जर्मनीमा पूर्वाधार र आर्किटेक्चरल इन्जिनियरिङमा विज्ञता हासिल गर्नुभएका मनोज पनेरू ऊर्जा, हाइड्रो, सोलार, बायो, हाइब्रिड इन्जिनियरिङका क्षेत्रमा नेपालमा सघाउन इच्छुक हुनुहुन्छ । भारतबाट सुशान्त श्रेष्ठले शासन व्यवस्थापन तथा व्यापार क्षेत्रमा र मनिष नेपालले व्यापार, उद्योग, टेलिकम्युनिकेसन तथा सूचना प्रविधिमा अनुभव आदानप्रदान गर्न खोजेका छन् ।
महेन्द्र भुजेलले भारतको अटोमोबाइल उत्पादनको अनुभव नेपालमा प्रयोग गर्न सकिने सम्भावना व्यक्त गरे । नेपालमा सवारी साधन उत्पादन नहुँदाको अवस्थामा भारतसँग निर्भर हुनुपरेको छ । अत्यधिक राजस्वको भार आमउपभोक्तामा छ । नेपालमै सवारी साधनका पार्टपूर्जा बनेमा सवारी यातायात सर्वसुलभ हुनसक्ने आशय उनको छ ।
कतारका अजित शिवाकोटी इन्जिनियरिङमार्फत आर्थिक विकास, सहरी विकास योजनामा र कतारमै रहनुभएका प्रदीपबहादुर खत्रीले हाइड्रोपावर, सोलार, नीति निर्माण तथा इन्जिनियरिङमा आफ्नो अनुभव रहेको उल्लेख गरेका छन् । कतारबाटै श्रीधर आचार्यले स्वास्थ्य, औषधि र व्यापार क्षेत्रमा अनुभव बाँड्न खोजेका छन् ।
दक्षिण कोरिया चोजवुक नेशनल युनिभर्सिटीका डा। काशीराज भट्टराईले स्वास्थ्य, औषधि, शिक्षा क्षेत्रमा योगदान गर्न खोज्नुभएको छ । दक्षिण कोरियामै लामो अनुभव सँगाल्नुभएका डा। विनायक भण्डारी विभिन्न परियोजनामा काम गरेको अनुभवलाई नेपालमा कार्यान्वयन गर्नसक्ने सम्भावना देख्नुहुन्छ । दक्षिण कोरियाकी प्रतिमा भण्डारीले भने नसर्ने रोगका सम्बन्धमा आफ्नो अनुभव नेपालमा प्रयोग गर्ने चाहना राखेका छन् ।
अमेरिकाका थरिथरि विज्ञ
मेरिका अस्टिन कम्युनिटी कलेजबाट उच्च शिक्षा हासिल गर्नुभएका डा। तुलसीप्रसाद दाहालले उत्साहजनक निवेदन दिएका छन् । उहाँले इनर्जी, हाइड्रो, सोलार, हाइब्रिड, इन्जिनियरिङ, प्राकृतिक विज्ञानमा र अमेरिकामा कृषि क्षेत्रमा अनुभव हासिल गर्नुभएका डा। दिवाकर दाहालले नेपालको कृषि क्षेत्रमा आफूले सघाउन सक्ने निवेदनमा उल्लेख गरेका छन् ।
अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका तोेयनाथ भण्डारीले नेपालमा औषधि, स्वास्थ्य र सरसफाइ क्षेत्रमा काम गर्ने रुचि प्रस्तुत गरे । त्यस्तै डा। विजय थापा अमेरिकामा बस्नुहुन्छ । नेपालमा रहँदा व्यवस्थापकीय क्षेत्रमा २६ वर्ष र १३ वर्ष संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सुपरभाइजरका रूपमा कार्यरत रहे  । उनीसँग अफगानिस्तान, भारत, नेपालसहित ४६ देशमा काम गरेको अनुभव छ । सुरक्षा क्षेत्रको सुधार, द्वन्द्व व्यवस्थापन, शिक्षा नीति निर्माण र उच्च व्यवस्थापकीय क्षेत्रमा काम गर्ने उनले चाहना अभिव्यक्त गरे ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम