Logo

श्रीलंकाली राष्ट्रपति नेपाल आउन इच्छुक



काठमाडौं, ४ मंसिर । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबय राजापाक्षेले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुने बताएका छन्।गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग श्रीलंकनको मनमस्तिष्क जोडिएकाले छिट्टै प्रम ओलीसँग भेट हुने उनको भनाइ छ।

राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत दिएको बधाईमा जवाफ दिँदै गोटाबयले नेपालबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।साथै उनले निस्क्रिय अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०लाई गतिशील बनाउनेमा जोड दिएका छन्।

‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु।’ –प्रम ओलीलाई रिट्विट गर्दै गोटाबयले भनेका छन् ।
गत शनिबार सम्पन्न निर्वाचनमा गोटाबय राष्ट्रपतिमा निर्वाचित भएका थिए । दुई मुलुकको बहुआयामिक सम्बन्ध अझ नजिक बनाउन आफू इच्छुक भएको बताउँदै प्रम ओलीले सोमबार उनलाई बधाई सन्देश पठाएका थिए ।
सार्वजनिक निर्वाचन परिणामअनुसार प्रतिद्वन्द्वी सुजिथ प्रेमदासालाई करिब १३ लाख मतान्तरले पराजित गर्दै आगामी पाँच वर्षका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
गोटाबय पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। राजापाक्षे राष्ट्रपति भएका बेला गोटाबय रक्षा मन्त्रालयका सचिव थिए ।
नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्