Logo

नेपालमा चैत १५ बाट युरो–६ पेट्रोल बिक्री हुने



काठमाडौँ, मंसिर ४ । नेपालमा आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । चैत १५ देखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा आगामी अप्रिल ९चैत० देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुनेछ ।
भारतबाट युरो–४ विस्थापित भएपछि नेपालले युरो–४ खरिद गर्न नसक्ने निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरेसनले अप्रिल फस्टबाट युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ पठाउने तयारी थालेको छ ।
निगमले नेपालमा उच्च गुणस्तरको युरो–६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ । हालसम्म युरो–४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक ९बल्क कस्टमर०का लागि युरो–६ पेट्रोल ल्याउन खुल्ला गरेको हो । प्रवक्ता गोइत भन्नुहुन्छ, आगामी चैतदेखि सबैका लागि बिक्री गरिने छ ।
सेवाग्राहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा हाल ल्याउन सक्ने गोइतले जानकारी दिनुभयो । युरो–६ मापदण्डको पेट्रोलको माग आइरहेको छ । नेपालमा युरो–६ मापदण्डका गाडी आयात भए पनि पेट्रोल भने युरो–४ कै बिक्री गरिएको छ । गोइतले भन्छन्, हाललाई निगमले ठूलो परिणाममा खरिद गर्ने ग्राहकलाई खुला गरिदिएको छ तर अहिल्यै पेट्रोलपम्पले युरो–६ पेट्रोल ल्याएर बिक्री गर्न पाइँदैन ।
भारतमा युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ लागू भएपछि नेपालले भारतबाटै खरिद गर्ने भएकाले नेपालमा पनि युरो–६ नै बिक्री हुने छ तर युरो–६ हालको भन्दा महँगो हुनेछ । युरो–४ भन्दा गुणस्तरको भएकाले पैसा पनि अन्तर्राष्ट्रिय मूल्यअनुसारकै हुने निगमले जनाएको छ । निगमका अनुसार युरो–६ पेट्रोलले गाडीको इन्जिन क्षमता बढाउनुका साथै वातावरण प्रदूषणसमेत कम हुनेछ । पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ छ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्