Logo

मन्त्री बन्न र नहट्न रातभर दौडधुप



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्न लागेको जानकारी गराउँदै मन्त्रीहरुलाई मानसिक रुपमा तयार रहन भनेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र मंगलबार साँझदेखि नयाँ दौड चल्यो । बहालवाला मन्त्रीहरु पदमा कायमै रहन प्रभावशाली नेताहरु कहाँ पुगेका छन् । मन्त्रीका आकांक्षीहरुको दौड तिव्र बनेको छ ।

गएराति अबेरसम्म केही मन्त्रीहरु नेकपाका प्रभावशाली नेताहरुकोमा पुगेर पदमा बहाल रहनेगरी लबिङ गर्न पुगेका छन् । अर्काथरी आकांक्षीहरु पनि राति अबेरसम्म नेताहरु र उनीहरुका निकटस्थसँग भेटघाटमा व्यस्त भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेटघाट बन्द जस्तै गरेका छन् । त्यसैले उनका सल्लाहकार विष्णु रिमाललगायत निकटस्थसँग बहालवाला मन्त्री र मन्त्रीका आकांक्षीहरु पुगे । ओली निकट नेकपा महासचिव विष्णु पौडेल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई भेट्नेको पनि उल्लेख्य संख्या थियो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग भेट्नेको पनि उल्लेख्य संख्या रहेको बुझिएको छ । प्रचण्डले मन्त्रीपरिषद् हेरफेर प्रधानमन्त्री ओलीको क्षेत्राधिकार भनी विज्ञप्ती निकाल्न लगाएपनि पूर्व माओवादीले पाएका मन्त्रालयमा पूर्व माओवादीले नै पाउनुपर्ने जोडबल भइरहेको छ । त्यसैले प्रचण्ड कहाँ पूर्व माओवादी मन्त्री देखि सांसदसम्मको दौडधुप चलेको छ ।

मन्त्रीको सूची तयार गर्दा भूमिका रहन सक्ने वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रभावशाली नेता वामदेव गौतमलाई भेट्नेको पनि भीड केही दिनयता बढेको छ । खनाल, नेपाल र गौतमले आफू निकटस्थलाई मन्त्री बनाउन जोडबल गरिरहेका छन् । मन्त्रीमण्डलमा फेरबदल गर्दा पनि यी नेताहरु निकटस्थलाई हटाउनसक्ने देखिएबाट आकांक्षीहरु उनीहरु कहाँ पुगिरहेका छन् ।

यसैगरी, उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा वामदेव गौतमको दाबी रहेको छ । उनलाई राष्ट्रियसभा सदस्य बनाएर उपप्रधानमन्त्री बनाउनेबारे ओलीले परामर्श समेत गरेका थिए । विष्णु पौडेल अर्थ मन्त्रालयको जिम्मेवारी पाउनसक्ने बताइएको छ ।

मन्त्रीको आकांक्षीमा जर्नादन शर्मा, अग्नि सापकोटा, पम्फा भुषाल, महेश बस्नेत, किसान श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र पाण्डेलगायत छन् । File Photo



प्रतिक्रिया दिनुहोस्