Logo

हनुमानढोका दरबार क्षेत्रमा सवारी साधन रोक्ने महानगरको प्रयास असफल



काठमाडौँ, ४ मंसिर। ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ ।
जोखिमपूर्ण पुरातात्विक सम्पदामा सूचीकृत उक्त सम्पदा क्षेत्रमा खुला पार्किङ र सवारी आवागमन हटाउन महानगरपालिकाले गरेको पटक–पटकको प्रयास असफल भएको छ । सम्पदा संरक्षणकर्मी र स्थानीयले सम्पदाभित्रको पार्किङ तथा सवारी आवागमन रोक्न माग गर्दै आएका छन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले यो मङ्सिर महिनाको पहिलो हप्ताबाट पार्किङ र आवागमन पूर्णरूपमा निषेध गरिने प्रतिबद्धता व्यक्त गरेपनि अझै रोकिएको छैन । ‘‘दरबार क्षेत्रमा सवारी निषेधको प्रयास पटक–पटक भएकै हुन्’’ उनले थपे, ‘‘सफल हुन सकेन ।’’
‘नेपाल पर्यटन वर्ष २०२० नजिकै आइसकेकाले पनि सम्पदाको संरक्षण, संवद्र्धन र सरसफाइ अनिवार्य भएको छ’, प्रवक्ता डङ्गोलले ढुक्क हुन आश्वसन दिँदै थपे, ‘‘अब केही दिनमै सवारी निधेष क्षेत्र हुन्छ ।’’
यसअघि कात्तिकको अन्तिम हप्ता काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपति सापकोटाले वसन्तपुर हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ हटाउनका साथै सवारी आवागमन निषेध गरिएको जानकारी दिए। तर, बिहान ७ बजे अघि र साँझा ७ बजेपछि भने पार्किङ र आवागमन यथावत रह्यो, निषेधित क्षेत्र हुन सकेन ।
झोँछेबाट वसन्तपुर, हनुमानढोका र सानो पशुपति मन्दिरबाट हनुमानढोका वसन्तपुर दरबार क्षेत्रमा सवारी आवागमन र पार्किङ सेवा सधँैका लागि निषेध गर्नुपर्ने माग छ । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको पुरातत्व विभागले जनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्