Logo

ओलीको आयुबारे प्रदीप नेपालको खुलासा



काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका एकजना भेट्रान नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेको अध्यक्षमा चुनाव हारेको भए श्रद्धाञ्जली दिनुपर्ने भइसक्थ्यो भन्दै ओलीको आयुबारे सनसनीपूर्ण खुलासा गरेका छन् । तत्कालिन नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले ओली नियममा बसेको खण्डमा १४ वर्ष आयु रहने भनी त्यतिबेला डाक्टरले भनेको खुलासा समेत गरे ।

जनआस्था साप्ताहिकसँग ४ मंसिमा प्रकाशित अन्तवार्तामा नेपालले ओलीको दीर्घायुका लागि आफूले अध्यक्षमा जिताउन सहयोग गरेको समेत बताए । मानवीय कारणले आफूले मत दिएको समेत खुलाए । उनले भने, ‘मैंले के थाहा पाएको थिएँ भने, उहाँले त्यतिखेर हारेको भए हामीले श्रद्धाञ्जली दिइरहनुपर्ने हुन्थ्यो ।’

अध्यक्षमा जितेको भोलिपल्ट ओलीसँग भेट नभएको समेत बताए । ओलीलाई भोट हाल्छु भन्दा आफूसँग माधवकुमार नेपाल रिसाएको समेत बताए ।

प्रदीप नेपालको भनाई जस्तोको तस्तैः


उहाँ (केपी शर्मा ओली )लाई पार्टी अध्यक्षमा जिताएको भोलिपल्टदेखि भेटघाटै छैन । माधवजी केपी गुटमा लागिस् भनेर रिसाउनुभयो । मैंले के थाहा पाएको थिएँ भने, उहाँले त्यतिखेर हारेको भए हामीले श्रद्धाञ्जली दिइरहनुपर्ने हुन्थ्यो । उहाँको डाक्टरसँग मेरो चिनारी थियो । सोधेँ, आयु कति हो ? नियममा बसेको खण्डमा १४ वर्ष । अध्यक्षमा हार्नुभयो भने ५६ महिना मात्र, जित्नुभयो भने इञ्जोय गर्न पाउनुहुन्छ, अर्को ५६ वर्ष बाँच्नुहुन्छ भन्ने थाहा पाएपछि मैंले माधवलाई आफै गएर भनें, यसपटक म तपाईलाई भोट दिन्नँ । किनभने केपीलाई जिताइयो भने अरु पाँच वर्ष बाँच्छन् ।

मुकुन्द न्यौपाने र म गएर माधव कमरेडलाई सम्झायौं तर उहाँले मान्नुभएन । केपीले राजनीति राम्रो गर्नुहुन्छ, संगठन राम्रो बनाउनुहुन्छ, पार्टी राम्रोसँग चलाउनुहुन्छ भनेरहोइन । विचरा १४ वर्ष कालकोठरीमा बसेको मान्छेलाई संगठनको के ध्यान ? मानवीय संवेदनशीलता जन्मियो । र उहाँलाई जताउन पहल गरेँ । त्यसअघि र पछि केही लिनु छैन । बरु, दिएकै छु ।

म उहाँको पक्षमा खुलेर लाग्दा केही साथीसंगीले उहाँलाई अध्यक्षमा भोट हालिदिए । तर, त्यो कुनै सर्त वा स्वार्थसँग गाँसिएको कुरा थिएन, बिल्कुल मानवीय कारण हो । मलाई अहिले भन्नु केही छैन, गुनासो छैन, चित्त दुखाई पनि छैन । केपी जति धेरै तन्दुरुस्त देखिदै जानुहुन्छ, म त्यसैमा रमाउँछु । अध्यक्ष बनाएको पनि त्यही भएर हो ।



प्रतिक्रिया दिनुहोस्