Logo

अनुदानमा आलुको बीउ वितरण



तनहुँ, ४ मंसिर । तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।

नगरपालिकाका १४ वटै वडाका करीब ३०० कृषकलाई १६ हजार ५०० केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ ।

प्रतिकेजी रु ५८ पर्ने जनकदेव आलुलाई रु २९ मा र प्रतिकेजी ६० पर्ने एमएस आलुलाई रु ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिए । “अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ”, वाग्लेले भने, “कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।” नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरीद गरी ल्याएको हो ।

नगरपालिकाले वितरण गरेको आलुको बीउ करीब १८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच÷छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ । बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरीद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्याङ्क भने नगरपालिकासँग नरहेको वाग्लेले बताए । “आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो”, वाग्लेले भने ।

यसैगरी कृषि शाखाले च्याउ, हाते ट्र्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारीखेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६०० केजी आलुको बीउ माग गरिएकामा ३०० केजी मात्रै पाएको बताए । टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरीद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रूपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिए ।

व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिए । समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ ।

गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले बताए । गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । “अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौं’, बगालेले भने । रासस



प्रतिक्रिया दिनुहोस्