Logo

मनकामना मन्दिरप्रति यसकारण धेरैको विश्वास



मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थान हो । मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले मन्दिरको नाम मनकामना रहन गएको जनविश्वास छ ।

जनविश्वासका कारण मानिसहरु भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउने गर्छन् ।

किंम्वदन्ती अनुसार राजा रामशाहा (विसं १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिइन् । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक विरामी भई स्वर्गीय भए । उनको अन्तेष्टि मस्र्याङदी नदीको–दरौदी दोभान रामशाहा घाटमा गरियो ।

त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहासँगै सती गइन् । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिम्रै गाउँको एकछेउमा फेरि प्रकट हुनेछु,” भनेर भनिन् भन्ने भनाइ छ ।

सात महिनापछि अहिले मनकामना मन्दिर रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्किएर त्यसबाट दुध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही स्थानमा देवीको मन्दिर स्थापना गरियो । घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका सन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइदिएका थिए ।

मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा वंकेश्वरी मन्दिर हुन् । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ । जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दह्रो हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्