Logo

उपसभामुख तुम्वाहाम्फेलाई मन्त्री पद प्रस्ताव



काठमाडौं, ४ मंसिर । उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई मन्त्री पदको प्रस्ताव गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री प्रस्ताव गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उपसभामुखलाई मन्त्री पदसहित वरियतामा समेत ध्यान दिने भनिएको छ । तुम्वाहाम्फेले भने महत्वपूर्ण मन्त्रालयको आकांक्षा राखेकी छिन् ।

संविधान बमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने व्यवस्था छ । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली पदमा नयाँ चुनाव गर्नुपर्ने अवस्था बनेको छ । नेकपाले आफ्नो पार्टीका तर्फबाट सभामुख बनाउन उपसभामुखलाई राजीनामा दिन लगाउनुपर्ने वाध्यात्मक अवस्था बनेको छ ।

उपसभामुखले राजीनामा दिएपछि सभामुखमा नेकपाका उम्मेदवारलाई अगाडि सार्ने र उपसभामुखमा अन्य दललाई साथ दिने नेकपाको रणनीति छ ।
सभामुखमा नेकपाको पूर्व माओवादी सम्वद्ध नेताहरुको मुख्य दाबी छ । देव गुरुङ, ओनसरी घर्ती, अग्नि सापकोटा, जर्नादन शर्मा, टोपबहादुर रायमाझी दाबेदार देखिएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्