Logo

ओली ५ वर्ष प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष



काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने र पार्टीको एकल नेतृत्व अर्का अध्यक्ष दाहाले गर्ने भएका हुन् । “अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्र्णय भएको छ”, श्रेष्ठले भने ।

बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ ।

पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने छन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्