Logo

भद्रकाली मन्दिरको रहस्य



राजधानी काठमाडौंमा अवस्थित सिंहदरबारदेखि ५ सय मिटर पश्चिम तथा टँुडिखेलको पूर्व तिरको बाटोको वीचमा भद्रकालीको प्रसिद्ध मन्दिर रहेको छ । नवदुर्गा र दश महाविद्या पीठ मध्येकी एक देवी भद्रकालीको स्थापना परापूर्व कालका राजा गुणकामदेवले कलिको संम्बत ३८२५ मा गराएको मानिन्छ । उक्त मन्दिरबाट नेपाल संम्वत ८५० मा अमर मल्लले प्रत्येक वर्ष प्रेत चर्तुदशीका दिन रथ यात्रा गर्ने परम्परा बसाएका थिए ।

किंम्वदन्तीअनुसार प्राचीन कालमा उपत्यकाका एक जना किसानले रोपाई गर्ने क्रममा एक जना बालिकालाई खेतमा रोइरहेको अवस्थामा फेला पारेछन् । ती किसानले बालिकालाई नरोऊ भनेर फकाउन लागेछन् । जति फकाउँदा पनि बालिका शान्त नभएपछि किसानले आफ्ना लागि भनेर लगेको खाजा रोटी ती बालिकालाई दिएछन् । रोटी दिएपछि बालिका रुन छाडेर लगत्तै हाँस्न थालिछन् । र, त्यसको केही समयपछि अन्तर्रध्यान भइछन् । त्यसपछि किसानले उनलाई दिएको पिठोको रोटी सुनको रोटीमा परिणत भएछ ।

नेवारी भाषामा लु को अर्थ सुन र मरी को अर्थ रोटी हुने हुदाँ ति बालिकालाई किसानले साक्षात देवी मान्दै लुमरी देवी भनेछन् । तसर्थ भद्रकालीलाई लुमरी भगवती पनि भन्ने गरिन्छ । किसानले साक्षत मानेकी लुमरीदेवी अन्तर्रध्यान भए लगत्तै राजा गुणकामदेवलाई खबर पुगेछ । त्यसपछि राजाले त्यस ठाउँलाई देवीको वासस्थान मानेर त्यहाँ भद्रकाली पीठको स्थापना गरेका थिए । देवी रुपकी बालिका देखिएको ठाउँमा ती किसानले नौ ओटी देवीको स्तुती गर्दै आएको कारण भद्रकालीलाई नवदुर्गा मध्येकी प्रख्यात देवी र उक्त स्थानलाई नेपालको प्रख्यात शक्तिपीठको रुपमा पूजाआजा गर्ने गरिएको हो ।

आजसम्म पनि दशैँको नवरात्र र अन्य अवसरमा तान्त्रिक परम्परा अनुसार भगवतीको पूजा गर्ने गरिन्छ । त्यसैगरी शिवपुरी डाँडाको फेद स्थित चपली नाम गरेको स्थानमा भद्रकालीको स्थापना भएको मानिन्छ । चपली भद्रकाली तथा भद्रकाली उत्पत्ति भएको स्थानमा राजाहरुले दर्शन गर्न नहुने भएकाले यस्ता भद्रकालीलाई सिंहदरबारको पश्मि दिशामा ल्याएर स्थापना गरिएको किंम्वदन्ती पनि रहेको पाइन्छ । दशैँमा यस्ता शक्तिपीठमा गई पूजा तथा आरधना गर्नाले शक्ति तथा सम्बृद्धि प्राप्त हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । मन्दिरमा प्रत्येक मंगलबार र शनिबार दर्शनार्थीहरुको अरु दिनको तुलनामा भीड लाग्ने गर्दछ ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्