Logo

ओली सरकार गठनपछि विदेशी लगानी बढ्यो, स्वदेशी घट्यो



काठमाण्डौ । सरकारले दुई पटक लगानी सम्मेलन गरेर नेपालमा लगानी गर्नलाई आग्रह गरेपनि सोचे अनुसारको लगानी आउन सकेन । २ पटकको लगानी सम्मेलनले वैदेशिक लगानी केही बढेको देखाए पनि अपेक्षाभन्दा कम नै छ । केपी ओली नेतृत्वको सरकार बनेपछि स्वदेशी लगानीमा पनि कमी आएको छ ।

सरकारले लगानी आकर्षित गर्न विभिन्न कार्यक्रम, सम्मेलन आयोजना गरेपनि स्वदेशी लगानीमा भने त्यसको असर नकारात्मक परेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको कार्तिक मसान्तभित्र ६९ अर्ब ४५ करोड रुपैयाँको स्वदेशी लगानी प्रतिवद्धता आएको जनाएको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब ७९ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । जुन १ अर्ब १५ करोडले बढी हो । सरकारले औद्योगिक व्यवसायय ऐन र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन (फिटा) लागु गर्दा स्वदेशी लगानीमा केही असर पर्न गएको भएपनि बाहिर भने झै स्वदेशी लगानीमा कमी नआएको उद्योग विभागका सुचना अधिकृत बिनोद खड्का बताउँछन् ।

औद्योगिक व्यवसायय ऐन र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनका कारण ६ अर्बभन्दा माथि लगानी भएका उद्योगहरु लगानी बोर्डमार्फत जाँदा प्रतिवद्धता कम आए जस्तो देखिएको हो । विभागमा हाल ५ अर्बभन्दा कम लगानीका उद्योगहरु पनि दर्ता हुने क्रम घटेको खड्का बताउँछन् ।

गत आर्थिक वर्षको पहिलो ४ महिनामा २९ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा चालु आवको सोही अवधिमा उक्त प्रतिवद्धता ५ अर्बले बढेको छ । चालु आवको कार्तिक मसान्तसम्म नेपालमा १७ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वैदेशिक लगानी पर्यटन, होटल र सञ्चार क्षेत्रमा बढी लगानीको प्रतिबद्धता आएको छ ।

कार्तिक मसान्तसम्म पर्यटन क्षेत्रका ४६ ओटा उद्योगमार्फत मात्रै ६ अर्ब ८५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । यस्तै गत बर्षको सोही अवधिमा यो क्षेत्रका ५५ ओटा उद्योगमार्फत ४ अर्ब ९४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार वैदेशिक लगानी (एफडीआई) भनेको लगानीकर्ताले आफ्नो अर्थतन्त्र भन्दा बाहिर दीर्घकालीन रुपमा व्यवसाय सञ्चालन गर्नका लागि गरेको लगानी हो ।

नेपालमा विदेशी लगानी नीति २०७१ ले जलविद्युत, यातायात, पूर्वाधार, कृषिजन्य, खाद्य, पर्यटन, उद्योग, खानीजन्य उद्योगलाई विशेष प्राथमिकतामा राखेको छ । विश्व लगानी प्रतिवेदन २०१६ का अनुसार नेपालमा साँढे ५ अर्व रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सरकारले २०७१ सालमा वैदेशिक लगानी नीति २०७१ ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्