Logo

प्रधानमन्त्रीज्यूले १५० वर्ष बाँच्ने भएँ भन्नुभयो- सुवासचन्द्र नेम्वाङ, नेता, नेकपा (भिडियोसहित)



काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तौलिएर बोल्ने नेताको परिचय बोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने नेता नेम्वाङसँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् लागि ऋषि धमलाले गरेको कुराकानी भिडियोसहितः
केपी शर्मा ओली प्रधानमन्त्री भएको २१ महिना भयो, उहाँ सफल कि असफल ?
अहिले नै समीक्षा गर्ने बेला भएको जस्तो लाग्दैन । तर, अहिलेको बिन्दुमा उभिएर भन्नुपर्दा आफ्नो प्रतिवद्धताअनुसार सरकारले काम गरिरहेको छ । निर्वाचनको बेला जनतासमक्ष जे प्रतिवद्धता गरिएको थियो, त्यसलाई पूरा गर्ने आधार तयार गर्दै अगाडि बढिरहेको छ ।
निर्वाचनको बेला ल्याइएको घोषणापत्र अनुसार काम भएको छ ?
तपाईंले जे प्रश्न सोध्नुभएको छ । त्यो प्रश्न लिएर अर्को निर्वाचनताका आउनुभयो भने हामीले यति काम गर्यौं भन्न सक्ने अवस्था हुन्छ ।
यो २१ महिनाको समीक्षा गर्दा सरकार कहाँनेर चुक्यो ?
त्यो यहाँहरुले समीक्षा गर्ने कुरा हो । समीक्षा गर्दा समग्रमा गर्नुपर्छ, त्यसमा के के भएका छन् र के के भएका छैनन् । जति बेला नेकपाले सरकारले सम्हालेको थियो, त्यतिबेला नेपालको अवस्था कस्तो थियो ? त्यस सन्दर्भमा हामीले हेर्नुपर्छ । अहिले भारत र चीनसँग सम्बन्ध सुमध्ुर मात्र भएका होइनन् । चीनका राष्ट्रपतिले आएर सहयोग गर्ने घोषणा नै गरिए ।
भारतले नेपालको भूमि मिचेको अनि कसरी उसँग सम्बन्ध राम्रो छ भन्ने ?
कुनैपनि कुरा छोट्याएर छलफल गर्दा दूधको दूध, पानीको पानी गर्न सक्छौं । यो नाकाबन्दीको प्रसंगको कुरा हो । त्यति बेला यो सरकारले यो नाकाबन्दी हो यसलाई हामी स्वीकार्दैनौं भन्यौं । त्यो मात्रै होइन अब यो देश भूपरिवेष्ठित नभएर भूजडितको स्थितिमा पुर्याएका छौं । त्यो प्रसंगको कुरा गर्दा ‘यसो भन्नुभयो चीनका राष्ट्रपतिले भनेको हुँ’ ।
चीनको राष्ट्रपतिले भन्दैमा हाम्रो देशको सबै समस्याको समाधान हुन्छ भन्ने आधार के ?
जे प्रसंग उठेको छ, त्यसैमा केन्द्रित रहनुपर्छ । हामीले मात्रै भन्दा यिनीहरुले मात्रै भनेका हुन् भन्नुहुन्छ तपाईंहरुले त्यसकारण यसपालि चीनले पनि भन्यो भनेको । चीनबाट पनि बाटो खुल्यो त्यसैले कसैले चाहँदैमा नेपालमा नाकाबन्दी हुँदैन भनिएको हो ।
त्यसोभए चिनीया राष्ट्रपतिसँग कुरा मिल्यो, भारतीय प्रधानमन्त्रीसँग मिलेन हो ?
कसले भन्यो यो कुरा मैले भनेँ ? त्यसैले मेरो आग्रह छ, जे हो त्यो भन्नुहोस् । नभएको कुरा जोड्नुहुँदैन । मैले सीको एउटा प्रसंग भनेको छु । हामीले नाकाबन्दीलाई सहज तुल्याएको मोदीसँग कुरा नगरिकन हो र ? उहाँसँग कुरा गरेर सहज बनाएको हो । त्यसमा भारत सरकार पनि कन्मिन्स भयो ।
तर, नेपालको भूमिमा भारतीय फौज छ नि ?
सीमा अतिक्रमणका कुरालाई लिएर यति चाँडै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो । उहाँले त्यो बैठकबाटै सन्देश दिनुभयो, ‘हामीलाई यो अतिक्रमण स्वीकार्य हुँदैन’ भनेर । त्यहाँ प्रधाानमन्त्रीले सबै प्रमाणबाट कालापानी हाम्रो हो, यसलाई छोड्न सक्दैनौं भन्नुभयो । नक्सा प्रकाशन गर्नु ठूलो कुरा होइन । भारतले प्रकाशन गरेर आफ्नो इच्छा देखायो । हाम्रो हकमा हामी त्यो फिर्ता लिएर देखाउँछौं । नेपाल सरकारले भारत सरकारलाई हाम्रो सीमानाबाट तपार्इंंहरु हट्नुहोस् भनिसकेको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरामा समस्या आएको ५८ वर्ष भइसक्यो अहिलेसम्म त समाधान गर्न सक्नुभएन नि ?
यो ५८ वर्ष केपी ओलीले सरकार चलाएको होइन । तर, यसलाई हाम्रो विषय होइन भनिरहेका छैनौं । हामी सबैको विषय हो । त्यसैले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेका हौं । यो पुरानो घटना हो, पहिलो पटक यसरी उद्घाटित भयो, त्यसलाई तत्कालै अस्वीकार ग¥यौं ।
सीमा विवादको बारेमा अहिलेसम्म केपी ओली र मोदीबीच वार्ता भएको छ ?
केपी ओली र मोदी वार्ता गर्ने भनेको तपाईं र मैले बसेर कुरा गरेजस्तो हो ? तपाईंहरुले जनतालाई त्यसरी भन्नुपर्दैन । नेपालको सीमा मिचिएको बारेमा पहिलोपटक एउटा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘हामी हाम्रो जमीन फिर्ता ल्याउँछौं’ भनेर । हामीलाई अहिले सबै राजनीतिक दलहरुले कुटनीतिक पहलमा अगाडि बढ्नु भनेका छन् ।
पञ्चायत व्यवस्थायता धेरै प्रधानमन्त्रीहरुले भारत भ्रमण गरे, त्यसबेलामा पनि सीमा अतिक्रमण थियो किन कुरा उठाउन सकेनन् ?
कतिपय कुरामा सम्बन्ध राम्रा हुन्छन्, कतिपयमा समस्या देखिन्छन् । यस्ता समस्याहरु हल नभएका धेरै देशका प्रसंगहरु छन् । चीन र भारतबीच, भारत र पाकिस्तानबीच पनि समस्या उस्तै छन् । कतिपय समस्याहरु चाहेर पनि गर्न सकिँदो रहेन छ । यो पनि त्यस्तै दुःखद प्रसंग पर्यो । यो समस्याको समाधान प्रधानमन्त्री एक्लै बोलेर होइन, सर्वदलीय बैठकबाट धैर्यताका साथ गर्नुपर्छ ।
सरकारलाई सर्वपक्षीय समर्थ हुँदा पनि किन अहिलेसम्म भारतलाई एउटा पत्र लेख्न सक्नुभएन ?
सर्वपक्षीय सहमति आइसकेपछि सरकारले त्यसप्रति हामी अगाडि बढ्छौं भनिसकेको छ । यो अतिक्रमण हामीलाई स्वीकार्य छैन भनेको छ । हाम्रा प्रधानमन्त्रीले भारत सरकारलाई तपाईंको सेना हाम्रो भूमिबाट फिर्ता लानुहोस् भनिसक्नुभएको छ ।
यो कुरा उठेको त १५ दिनभइसक्यो नि ?
तपार्इंं ५८ वर्षको कुरा गर्दैहुनुहुन्थ्यो । १५ दिनमै यति धेरै काम भएछ । यति चाँडै धुमधाम गर्नुभयो अरु गर्नुहोस् भन्नुस् न, ५८ वर्षको भारी बोकाउने होइन ।
त्यसोभए केपी शर्मा ओलीले नेपालको गुमेको भूमि भारतबाट फिर्ता ल्याउन सक्नुहुन्छ ?
फिर्ता गराउने दृढ अठोटका साथ प्रधानमन्त्री अगाडि बढ्नु्पर्छ, त्यसमा सिंगो देशले सहयोग गर्नुपर्छ ।
अब कालापानीबाट भारतीय फौज हट्छ हो ?
कालापानी सबै हिसावले हाम्रो हो । त्यसमा हाम्रा ऐतिहासिक प्रमाणहरु छन् । यतिबेला सिंगो राजनीतिक दललगायत सबै नागरिक सरकारको पक्षमा उभिएको छ ।
प्रमाण र आधार नेपालसँग छ ?
नेपाल सरकार र जनतासँग छ । सुगौलीसन्धिका बेला पश्चिमको सीमाना महाकाली नदीको मुहान लिम्पियाधुरा हो । पानीको हिसाबले लिम्पियाधुरा नै हाम्रो सीमाना हो । सुगौली सन्धि पछिको नक्शामा पनि त्यो उल्लेख छ ।
भारत र नेपाल दुवैदेशले कालापानी हाम्रो भनेको छ, यसको मिलनबिन्दु के ?
भारतले हाम्रै हो भनेन भने विवाद कसरी हुन्छ त ? उसले भनेर विवाद भएको हो नि, हामीले मात्रै भनेको भएत मिलिहाल्थ्यो नि । निर्विवाद तथ्य र प्रमाण हामीसँग छ ।
भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच यो विषयमा वार्ता हुन्छ ?
आवश्यक परेको खण्डमा हुन्छ ।
यो विषयमा चीन त मौन छ नि ?
चीन मौन छैन, उसले यसबारेमा तपाईंहरु संवाद गर्नुस् भनेको छ ।
प्रधानमन्त्री उपचारको लागि अमेरिका जाँदै हुनुहुन्छ होइन ?
मसँग भेट हुँदा उहाँले हास्दै भन्नुभयो, ‘म त १५० वर्ष बाँच्ने भएँ भन्नुहुन्थ्यो । मलाई त खुसी लाग्यो । यस्तो अवस्थाको मान्छेले त्यसो भन्दा ।



प्रतिक्रिया दिनुहोस्