Logo

द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव



काठमाडौँ, ५ मंसिर । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो ।

नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए, उनको अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए। अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ ।
उनले भने, “द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ । अबको दुई हप्ताभित्र सो अध्ययनको विस्तृत प्रतिवेदन ‘कन्सलट्यान्सी’ले नेपाल आयल निगमलाई बुझाउने छ ।” अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीले बताए। पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सो सम्भाव्यता अध्ययन गरेको हो ।
यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैङ्क ९एडीबी०द्वारा गरिएको अध्ययनमा समेत दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो ।
अहिलेसम्मको अध्ययनले भौगोलिक बनोटका कारण द्रुतमार्गमा रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने जस्तो सहज हुन नसक्ने उनले बताए । उनले भने, “अमलेखगन्जदेखि काठमाडौँको सतह करिब एक हजार मिटर अग्लो छ । द्रुतमार्ग हुँदै पेट्रोलियम पाइपलाइनमार्फत काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउन कम्तीमा दुई ठाउँमा ‘बुस्टर पम्प’ जडान गर्नुपर्ने हुन्छ ।” मोतीहारीदेखि अमलेखगन्जसम्मको उचाइ दुई सय मिटर मात्र फरक छ ।
द्रुतमार्गमा ‘हाइराइज ब्रिज’ र सुरुङमार्ग निर्माण हुने भएकाले पुल र सुरुङमार्ग हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाका लागि नै नयाँ प्रयोग हुने छ । भारतमा समेत सुरुङमार्गभित्र पेट्रोलियम पाइपलाइन बिछ्याइएको छैन । नदी र खोला भएको ठाउँमा ‘होरिजेन्टल डेफ्थ ड्रिलिङ’ गरेर छ मिटरसम्मको गहिराइमा पाइप बिछ्याउन सकिने एउटा विकल्प देखिएको उनले बताए।
द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाली सेनासँग नेपाल आयल निगमले दुई पटक बैठक गरेको छ । निगमका प्रबन्धक रेग्मीले सेना यस कार्यका लागि सकारात्मक रहेको बताए । सेनाले द्रुतमार्गमा पुल र सुरुङ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको हुनाले पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा प्राविधिक र कानुनी रूपमा छिट्टै निष्कर्षमा पुग्नुपर्ने सेनाको सुझाव छ  ।
‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’का प्रमुख नारायणप्रसाद गौतमले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भई प्रतिवेदन तयारीको काम भइरहेको जानकारी दिए। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले निर्णय गरेको अवस्थामा द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सेना तयार रहेको बताए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्