Logo

जग्गा व्यापारीको हत्या



काठमाडौँ, ५ मंसिर । जग्गा कारोबार गर्दै आएका इनरुवा–३ बस्ने ४० बर्से कारी यादवको हत्या भएको छ। इनरुवाको सोमबारे हाटछेउ घर भएका यादव मंगलबार खाना खाएर सुतेको थिए तर बुधबार बिहान घरनजिकै हत्या गरेको अवस्थामा उनको शव भेटिएको हो।

‘ढाडको पछाडिपट्टि धारिलो हतियारले घोपेको अवस्थामा शव फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले भने, ‘घरेलु हतियार प्रयोग गरिएकाले नजिकैको मान्छे रहेको अनुमान गरिएको छ।’ घटनामा संलग्न भएको आशंकामा दुईजना कारीका साथीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। उनीहरू कारीसँगै जग्गा कारोबार गर्ने रहेका छन्। प्रहरीले दुवैको नाम भने गोप्य राखेको छ। सुनसरीमा चालू आवको साउनदेखि हालसम्ममा सातजनाको हत्या भइ सकेको प्रहरीले बताएको छ।

प्रहरीले अहिलेसम्म ६ वटा हत्याकाण्डका दोषीलाई मुद्दा चलाइसकेको छ। सुनसरी शान्ति–सुरक्षाको हिसाबले प्रदेश १ को संवेदनशील जिल्लाको रूपमा मानिन्छ। सुनसरीमा २०७५ साउनदेखि २०७६ भदौ मसान्तसम्मको अवधिमा २९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ। जिल्लामा शृंखलाबद्ध हत्याका घटनाले समाजमा असुरक्षाले पिरोलेको छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्