Logo

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन



काठमाडौं, ५ मंसिर । ‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’ यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर केही समय नाराबाजी गरे। उनीहरूले त्यहाँ कोणसभासमेत गरे। ‘भारतले हाम्रो सीमा अतिक्रमण गरेको छ। त्यो भूभाग फिर्ता नगरेसम्म हामी जस्तोसुकै संघर्ष र आन्दोलन गर्न तयार हुनेछौं,’ कोणसभालाई सम्बोधन गर्दै सुदूरपश्चिम एकेडेमीका विद्यार्थी गणेशबहादुर शाहीले भने, ‘हाम्रो भूमि मिचेको विरोधमा सबै एकजुट भएर अघि बढ्नुपर्छ।’

दार्चुलाका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग भारतले आफ्नो देशमा गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि यस क्षेत्रका बासिन्दा आक्रोशित छन्। दुई सातायता विद्यालय, कलेज पढ्ने विद्यार्थीदेखि विभिन्न समूह र संगठनले विरोध प्रदर्शन गरिरहेका छन्। गत कात्तिक २० गते सत्तारूढ दलनिकट अनेरास्ववियु र अखिल नेपाल युवा संघले ‘ब्याक अफ इन्डिया’, ‘लिलुलेक नेपालकै हो’, ‘अर्काको भूमि लिँदैनौ’, ‘आफ्नो भूमि छाड्दैनौं’ जस्ता नारा लगाएर धनगढीमा विरोध प्रदर्शन गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot