Logo

शितलनिवासमा शपथ ग्रहणको तयारी



काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण गर्ने तयारी भइरहेको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज ११ बजेपछि नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम राखिएको छ । शितलनिवासमा यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु सबै भेला भैसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्रीमण्डल पुर्नगठन गरेका थिए । पुर्नगठित मन्त्रिमण्डलको सूची राष्ट्रपति कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको छ । सूचीअनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण बिष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएका छन् । महासेठ, बिष्ट, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि प्रधानमन्त्री ओलीले दबाब सृजना गरेका छन् । उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको छ । भारत भ्रमणमा रहेका यादवले यसको जानकारी पाएलगत्तै निकटस्थसँग असन्तुष्टि जनाइएको बुझिएको छ ।

ओली मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । भुषाल विचारक हुन् । वसन्त नेम्वाङ पहिलोपटक मन्त्री बनेका छन् । पूर्व माओवादीबाट लेखराज भट्ट र रामेश्वर राय यादवको प्रवेश भएको छ । सूर्य चिन्ह लिएर चुनाव लडेका मधेश केन्द्रित नेता हृदयश त्रिपाठी मन्त्री बनेका छन् । त्रिपाठीलाई वरियतामा पाचौं नम्बरमा राखिएको छ ।

त्रिपाठीलाई सामान्य र यादवलाई श्रम मन्त्री बनाइएको छ । मन्त्रीबाट नहटेको र जिम्मेवारी हेरफेर नभएकामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सञ्चारमन्त्री गोकुल बास्कोटा, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा। युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, भूमी व्यवस्थामन्त्री पद्यमाकुमारी अर्याल र खानेपानीमन्त्री बीना मगर छन् ।



प्रतिक्रिया दिनुहोस्