Logo

पूर्वमन्त्री प्रभु शाह मुछिएको काशि तिवारी हत्याकाण्डको फाइल खुल्न सक्ने



काठमाडौं, ५ मंसिर । मन्त्रिपरिषद् पुर्नगठनप्रति नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु शाहले असन्तुष्टि व्यक्त गरेपछि नेकपाका अर्का नेता विष्णु रिजालले विगतमा उनी मुछिएको हत्याकाण्डको फाइल खुल्न सक्ने संकेत गरेका छन् । उनले शाह मुछिएको काशी तिवारी हत्याकाण्डको फाइल खुल्न लागेको संकेत गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका शाहले फेसबुकमा पोष्ट गर्दै मन्त्रिपरिषद्मा योग्यलाई हटाएर अयोग्यलाई ल्याइएको र लेनदेनबाट पुर्नगठन गरिएको लेखेपछि नेकपा नेता विष्णु रिजालले काशी तिवारी हत्याकाण्डको फाइल खुल्ने चेतावनीसहित लेखेका छन् । रिजालले शाहलाई अनुशासनको कारबाही गर्नुपर्ने समेत उल्लेख गरेका छन् । विदेश मामला विभाग उपप्रमुख समेत रहेका रिजालले फेसबुकमा लेखेका छन्, ‘साँच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो ? सभामुखमाथि त निर्मम रुपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’

नेपाल हिन्दु महासंघका पर्सा जिल्लाका युवा नेता काशी तिवारीको हत्याकाण्डमा प्रभु शाहमाथि समेत हत्याको अभियोग लागेको थियो । शाहले हत्याकाण्डको योजना बनाएको आरोप लागेपनि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै २०६८ सालमा मुद्दा चलाएन । घटनाको छानविन भइरहँदा शाह भूमिसुधार मन्त्री थिए । उनीमाथि शक्तिको दुरुपयोग गरी अनुसन्धानलाई प्रभावित पारेको आरोप लागेको थियो ।

माओवादीले देशव्यापी बन्द आव्हान गर्दा त्यसको प्रतिकारमा उत्रिएका तिवारीलाई २०६७ सालमा गोली हानी हत्या गरिएको थियो । प्रहरी अनुसन्धानले शाह र उनका स्वकीय सचिव सियाराम कुशवाहमाथि हत्यामा संलग्न रहेको आशंकासहित अनुसन्धान समेत गरेको थियो । तिवारीको परिवारले शाहमाथि कारबाहीको माग समेत गरेका थियो ।



प्रतिक्रिया दिनुहोस्