Logo

गोसाइँकुण्डमा श्राद्ध गरे पितृ स्वर्ग पुग्ने विश्वास



रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो स्थानमा रहेको नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई शिवकुण्ड पनि भनिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले मन लोभ्याउँछ । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । सन् २००७ सेप्टेम्बरमा यस ताललाई रामसार क्षेत्र भित्र समावेश गरिएको हो ।

काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ ।गोसाइँकुण्डका वरिपरि नौ कुण्ड रहेका छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो ।
किंम्वदन्ती अनुसार विषले निस्लोट भएका शिवले जमीनमा गाडेको त्रिशूलबाट तीनवटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ । गोसाइँकुण्डमा सबैभन्दा ठूलो मेला जनैपूर्णिमामा लाग्छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायक भएर पुग्न सकिन्छ । गोसाइँकुण्ड बौद्ध तथा हिन्दू धर्मावलम्बीको धार्मिक स्थल हो । पर्वका अवसरमा त्यहाँ पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै श्राद्ध एवं तर्पण गर्नाले पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्