Logo

कांग्रेसमाथि सरकारका प्रवक्ताको हमला : वाईडबडीमा को संलग्न छ ? पोल खोलिदिउँ ?



काठमाडौं, ५ मंसिर । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमाथि लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै झुठको पुलिन्दाको संज्ञा दिए । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेसले २१ महिनामा २१ असफलता भनेर गरेको टिप्पणी झुठको पुलिन्दा, औचित्यहिन छ । यसमा कुनै सत्यता छैन् ।’

उनले कांग्रेसले सरकारलाई गाली गर्नको लागि मात्रै यस्तो गलत आरोप लगाएको बताए । उनले भने,‘गाली गर्नको लागिमात्रै यस्तो भन्ने संस्कार राम्रो होईन । कांग्रेसले सरकारमाथि आरोप लगाएर आउने चुनावको लागि एजेण्डा बनाउन खोजेको छ ।’

उनले ललिता निवास प्रकरणको सवालमा पनि सुवर्ण शमशेरको जग्गा कसले बाँडेको ? भन्दै कडा प्रश्न गरे । उनले भने,‘यो त कांग्रेसले बाँडेको हो ।
वाईडबडी खरिदमा को दोषी हो ? लाउडा, धमिजा काण्ड कसले गरेको ? हामीसँग एकसे एक काण्डका फाईल छन् । ०४६ साल यता यो सरकारका सयौं असफलता दिन सक्छौं ।’

विदेशीले बनाईदिएको कारखाना कौडीको भरमा कसले समाप्त पारेको हो ? भन्दै उनले कांग्रेसमाथि कडा टिप्पणी गरे । उनले भने,‘यी कलकारखा कसले बेचेर खाएको ? सुन काण्डमा को संलग्नछ ? को दोषी छ ? कांग्रेसले गलत कुरा गरिरहेको छ ।’

त्यस्तै, उनले रौतहटको बम काण्डमा संलग्न मोहम्मद अफ्ताब आलमको बारेमा किन कुरा नगरेको भन्दै कांग्रेसलाई प्रश्न गरे । उनले थपे,‘आलमको काण्डबारे १२ वर्षको घट्ना किन कोट्याएको भन्ने ? हामीले त पार्टीका मान्छे गलत गर्नेलाई कसैलाई छोडका छैनौं । हामीले महरालाई कारबाही गर्यौं । कांग्रेसले निश्काषन गर्यो ? कांग्रेसले जनता नझुक्याए हुन्छ । तीन वर्षपछि हामी हामलिे गरेका कामका फेहरिस्त र कागज बोकेर जनतामा जान्छौं । अहिले सरकारमाथि कांग्रेसले लगाएको आरोप आफू सरकारमा सहभागी हुन नपाउँदा छटपटिएको हो ।’



प्रतिक्रिया दिनुहोस्