Logo

नेवानी कर्मचारी सरुवामा मदन खरेलले यसरी गरे अनियमितता



सरकार जतिसुकै बलियो भए पनि कर्मचारी भ्रष्ट भएपछि देशमा सुशासन कायम हुन सक्दैन । तर दुर्भाग्य, जुनसुकै पार्टीको सरकार आए पनि तिनै भ्रष्ट कर्मचारीहरुले पटक–पटक अवसर पाउँदा इमान्दार कर्मचारी पाखा लाग्न बाध्य छन् । सन्दर्भ हो, नेपाल वायुसेवा निगमको । त्यहाँ अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी मदन खरेलले पाएका छन् । झापा घर भएको एउटै मात्र योग्यताका आधारमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नियुक्ति दिइएको हो । यस अगाडि उनी निगमका महाप्रबन्धक थिए । महाप्रबन्धक हुँदा दुईवटा न्यारोबडी जहाज खरिदमा अनियमितता भेटियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन ग¥यो । त्यसपछि उनी राजीनामा दिएर भूमिगत जस्तै भए ।

ओली प्रधानमन्त्री भएपछि जिल्लावासीको नाताले निगमको कार्यकारी प्रमुख बनेका खरेलले आफ्नो कार्यकालको डेढ वर्षसम्म पनि निगमलाई सुधारको बाटोमा लैजान असफल भएका छन् । कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषको साँवा, ब्याज तिर्न नसकेर निगम डुब्ने अवस्थामा छ । भएका आन्तरिक उडानका चिनियाँ जहाज त्यत्तिकै थन्किएका छन् । वाइडबडी र न्यारोबडीका चार वटा जहाज सञ्चालनमा आए पनि बजार व्यवस्थापन राम्रो नहुँदा आम्दानी घटेको छ । जहाजको प्रमुख कुरा गन्तव्यका साथै बजार व्यवस्थापन मुख्य हो । इञ्जिनीयरिङ विभागदेखि अन्य विभाग भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।

तर, विदेशका स्टेशनमा निगमका कर्मचारी सरुवामै मोलतोल हुन्छ भने ती कर्मचारीले कसरी व्यवस्थापन राम्रो गर्न सक्छन् ? जबसम्म विदेशमा सरुवा भएर जाने कर्मचारी योग्य र सक्षम हुँदैनन्, तबसम्म जहाज रित्तै उडाउनुपर्ने हुन्छ । यही भइरहेको छ निगममा । निगमले हालै मात्र विदेश सरुवा गरेका कर्मचारीहरुसँग मोलतोल गरेको कुरा बाहिर आएको छ ।

खरेल कार्यकारी अध्यक्ष बन्नासाथ उनले ‘आईएलइटीएस’ र ‘टोफेल’ पास गरेका कर्मचारीहरुलाई मात्र विदेश पोष्टिङ गर्ने भने । उनले भनेअनुसार त्यहाँका कर्मचारीले निगमकै खर्चमा अंग्रेजी भाषा उत्तीर्ण पनि गरे । तर, त्यो निगमलाई आफैँले कुल्चेर २०७६ असार २९ गते नयाँ निर्देशिका बनाए । जुन निर्देशिकामा भाषा पास गरेकालाई शून्य प्वाइन्ट ३ नम्बर मात्र दिए । यसको मतलव भाषा परीक्षालाई निगमले महत्व दिएन । भाषा परीक्षालाई नै मापदण्ड बनाएको भए सक्षम, योग्य कर्मचारीले मौका पाउँथे । तर, भाषा परीक्षालाई महत्व नदिइएपछि विदेश पोष्टिङमा लाखौँको लेनदेन भएको निगमका कर्मचारीहरु बताउँछन् ।

निगम सूत्रका अनुसार हङकङ पोष्टिङ भएका नवराज उपाध्याय, अजय शाह र कल्पना काफ्ले तिनै जना भाषा पास नगरेका कर्मचारी हुन् । काफ्लेलाई हङकङ पठाउन खरेलले निकै जोड गरेका थिए । बैंकक पोष्टिङ भएका होम पराजुली, मलेसियाका नरेशकुमार श्रेष्ठ, दोहाका प्रेमप्रसाद उप्रेती, बैंगलोरका कन्ट्री मेनेजर रीता राई भाषा परीक्षा पास नगरेका कर्मचारी हुन् । मलेसिया पोष्टिङ नरेशकुमार श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा पक्राउ परेर जेल परेका कर्मचारी हुन् । भाषा परीक्षा उत्तीर्ण गरेका सरिता थापा, डीएमडी गणेश चन्दको जोडबलले विदेश पोष्टिङ गरिएको हो । उनलाई पाँचौँ तहबाट छैटौँमा बढुवा गर्दा चन्द विवादमा परेका थिए । युवराज आचार्य, उज्वल दाहाल, गीता चन्द, नारायणप्रसाद पौडेल, राजेन्द्रबहादुर शाही, नवराज कोइराला, निरेन्द्र कार्की, अरुण वैद्य, सूर्यबहादुर नेपाली र इन्द्र थापालगायतका कर्मचारीहरुबाट लेनदेनको आधारमा विदेश पोष्टिङ गरिएको घटनाप्रति आधिकारिक ट्रेड युनियनले अध्यक्ष खरेलसामु विरोध जनाएका छन् । ट्रेड युनियनका कर्मचारीले पोष्टिङ हुनेहरुसँग कति कति रकम क–कसले असुलेको छ भन्ने तथ्यांक संकलन गरिरहेको स्रोतले बताएको छ ।

यसैबीच खरेलले नवौँबाट दशौँ तहमा बढुवा गरेका इञ्जिनीयर राजेशप्रसाद श्रेष्ठसँग मिलेर एपीयु खरिदमा लाखौँ कमिशन खाने वातावरण बनाएका छन् । एउटा अमेरिकन कम्पनीसँग बिना प्रतिस्पर्धा एपीयु खरिदको अन्तिम तयारी भइरहेको छ । त्यसैगरी दोहामा निगमको जीएसए नियुक्तिमा पनि खरेलले चलखेल गरिरहेका छन् । दोहामा पूर्वाधार नै नभएको एउटा कम्पनीलाई खरेलले बिना प्रतिस्पर्धा जीएसए नियुक्त गर्न खोज्दा सञ्चालक समितिका सदस्य अच्युत पहारीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यति मात्र होइन, ओशाकामा स्टेशन मेनेज सन्तोष पाण्डे घर बिदामा काठमाडौँ आएको बेला अफिसको काममा आएको भनेर चार महिनाको भत्तासमेत दिएका छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्