Logo

बौद्धिक मञ्च ‘सगरमाथा संवाद’मा अन्तर्रा्ष्ट्रिय चासोका साझा विषयमा बहस हुँदै



काठमाडौं, ५ मंसिर । आगामी चैत २०–२२ गतेसम्म नेपालमा आयोजना हुने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानवजातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुनेभएको छ ।

राष्ट्रिय, क्षेत्रीय, अन्तर्रा्ष्ट्रियस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय मञ्च सगरमाथा संवादका माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौँ उपायहरूमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, समावेशी लोकतन्त्र, वातावरण संरक्षणमा नेपालको सफलता, नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेका योगदानबारे बौद्धिक छलफल हुनेछ ।

 राहदानी विभागको परिसरमा स्थापना गरिएको सगरमाथा संवाद सचिवालयको आज उद्घाटन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त मञ्चमार्फत क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणका क्षेत्रमा नेपालले हासिल गरेका प्रगति तथा अनुभवबारे विश्व समुदायलाई बुझाउँदै साझा हित र चासोका विषयमा विचारविमर्श गर्ने र लाभदायी निचोड निकाल्ने लक्ष्य रहेको जानकारी दिए ।

“नेपालका आफ्ना अनुकरणीय मौलिक अभ्यासहरूको प्रवद्र्धन, विधिमा आधारित विश्व प्रणालीको स्थापना र सञ्चालन तथा विश्वशान्तिमा नेपालको योगदान तथा भूमिकाबारे विश्व जगतमा अनुभूत गराउने तथा अनुभव आदानप्रदान गर्ने, नेपाल स्वयंले भोग्नुपरेका जल्दाबल्दा विश्व मामिला एवं समसामयिक चासो र सरोकारका विषयहरूमा गहन बौद्धिक छलफल र विमर्श गरी साझा धारणा बनाउने र समस्या समाधानमा योगदान गर्ने संवादको लक्ष्य हो”, उनले भने ।

संवाद निर्देशक एवं आयोजक समितिका संयोजकसमेत रहेका मन्त्री ज्ञवालीले नेपालको छवि अन्तर्रा्ष्ट्रिय जगतमा उजिल्याउने र नेपालको समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्य रहेको संवादमा जलवायु परिवर्तनका प्रभावले छटपटाएका पर्वतीय र तटीय टापु राष्ट्रसहित २० देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्षलाई निमन्त्रणा गरिने जानकारी दिए।

“वातावरणीय, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रका समसामयिक विश्वव्यापी विषय एवं चुनौतीहरूसँग सगरमाथाको अस्तित्व जोडिएको तथा जलवायु परिवर्तनबाट समगरमाथामा प्रभाव परेकाले सगरमाथा एउटा सामयिक विश्वव्यापी बिम्ब हुनसक्ने भएकाले मञ्चको नाम सगरमाथा संवाद निर्धारण गरिएको हो”, सगरमाथा संवाद नामकरण गर्नुको औचित्य सुनाउँदै मन्त्री ज्ञवालीले भने ।

सगरमाथा संवादमा विभिन्न देशका उच्च राजनीतिक नेतृत्वदेखि विश्वव्यापी समस्याहरूले ल्याएको असरसँग जुझिरहेका सर्वसाधारण नागरिकसम्मको विविध क्षेत्र र तहका प्रतिनिधित्व हुनेछ । प्रशासनिक नेतृत्व, प्राज्ञ, अनुसन्धाता तथा विकासलगायत अन्य क्षेत्रका उच्चस्तरका अधिकारी, अन्तर्रा्ष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्रका प्रतिनिधिले बहसमा भाग लिनेछन् । रासस

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्