Logo

प्रचण्ड छिट्टै दौरा-सुरुवालमा देखिनुहुन्छ : मन्त्री यादव



काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दौरा सुरुवाल लगाउने तयारीमा छन् । अध्यक्ष दाहालको निकट भविष्यमा नै दौरा सुरुवाल लगाएर सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीबारे नवनियुक्त श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जनाए ।

नवनियुक्त मन्त्री यादवले आज पद तथा गोपनियताको शपथ लिँदा दौरा सुरुवाल लगाएर लिएका थिए । यादव मधेशका नेता हुन् । तर, उनले धेरैलाई आश्चर्य तुल्याएर दौरा सुरुवाल लगाए । यादव पूर्व माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका हुन् । उनी नेकपाका अध्यक्ष दाहालको कोटाबाट मन्त्री बनेका हुन् । उनी प्रचण्डका विश्वासपात्र रुपमा चिनिएका छन् । रोचक त के भने ? यादवले दौरा सुरुवाल किन लगाए भने पनि उनले आफैं खुलासा गरेका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले अध्यक्ष दाहालको निर्देशनअनुसार नै दौरासुरुवाल लगाएको जानकारी दिए । उनले भनेका थिए, हो, मैले अध्यक्ष दाहालको निर्देशनअनुसार नै दौरा सुरुवाल लगाएको हुँ । दौरा सुरुवाल नेपालको मौलिक पहिचान हो । त्यही भएर लगाएको हुँ ।

उनले सम्भवतः छिट्टै सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले पनि दौरा सुरुवाल लगाउने घोषणा गरे । प्रचण्डले अहिलेसम्म दौरा सुरुवाल लगाएको तस्विर बाहिरिएको छैन् । पहिलो पटक प्रधानमन्त्री बन्दा उनले ढाका टोपी पनि लगाएका थिएनन् । तर, दोस्रो कार्यकालदेखि उनले ढाका टोपी पनि लगाउन थालेका हुन् । अहिलेपनि उनले टोपी लगाउन छाडेका छैनन् । अब विस्तारै उनको दौरा सुरुवालतर्फ मोह बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्