Logo

हटाइएका मन्त्रीले राम्रो काम गरेको दाबी गरेपछि… 



काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनमा मन्त्रीहरुको कामको मूल्यांकन गर्ने भन्दै अप्रत्यक्ष रुपमा कार्यक्षमता कमजोर हुने मन्त्रीहरुलाई हटाउने चेतावनी दिए । बिहिबार मन्त्रीहरुलाई सम्बोधन गर्दै उनले दिएको अभिव्यक्तिले कार्यक्षमता कमजोर भएर मन्त्रीहरु हटाइएको सन्देश गयो । तर, हटेका मन्त्रीमध्ये केहीले आफ्नो पालामा भएका सफल कार्य सार्वजनिक गरे ।

निवर्तमान भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बुँदासहित आफ्ना पालामा भएका कामबारे जानकारी दिए । आफ्नो पालामा मुलुक सुरुङयुगमा प्रवेश गरेको बताए । २० महिनामा सबैभन्दा बढी सडक निर्माण भएको समेत उल्लेख गरे ।

निवर्तमान श्रममन्त्री गोकर्ण बिष्टले विदेशमा पसिना बगाउनेहरुको हितमा काम गरेको बताए । उनले घुमाउरो पारामा वैदेशिक रोजगारमा गरिब जनतालाई दुःख दिनेप्रति कडा रुपमा प्रस्तुत भएको सुनाए । गरिबको पक्षमा काम गरेकाले मन्त्री बिष्ट हटाइएको चर्चा समेत चल्यो ।

निवर्तमान कृषिमन्त्री चक्रपाणी खनाल फिल्डमै खटिएर काम गरे । कृषकको हितमा काम गरेको उनको भनाई थियो । निवर्तमान आपूर्तिमन्त्री मातृका यादव केही महिनायता प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट थिए । आफू मातहतको मन्त्रालयमा आफ्नै केही नचल्ने भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डसँग गुनासो गर्दै आएका थिए ।

निवर्तमान महिला, बालबालिकामन्त्री थममाया थापालाई हटाएर पुरुषमन्त्री ल्याइएको छ । थापा सालिन मन्त्रीको परिचय बनाएकी छिन् ।

मन्त्रीहरुको दाबी र कार्य हेर्दा उनीहरु हटाउनुमा पूर्वाग्रहले पनि भूमिका खेलेको छ । नेकपाका एक नेताले राजनीतिक पूर्वाग्रह र लेनदेनको आधारमा मन्त्रीहरु हटाउने र बनाउने काम भएको भन्दै असन्तुष्टि पोखे । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहले योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाइएको फेसबुकमै लेखे ।



प्रतिक्रिया दिनुहोस्