Logo

देशभर सागको ओलम्पिक टर्च



काठमाडौं, ६ मंसिर । मंसिर १५ गतेदेखि नेपालमा सुरु हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद ९साग० को ओलम्पिक टच देशका प्रमुख सहरमा पुर्‍याइने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्‍याली गर्न लागेको हो। ओलम्पिक टर्च र्‍याली शुक्रबार काठमाडौंको स्वयम्भूबाट सुरु हुनेछ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन खेलाडीलाई हस्तान्तरण गर्नेछन्।

त्यसपछि १३ जना ओलम्पियनले देशभर टर्च पुर्‍याउने र विभिन्न सहरमा टर्च र्‍यालीको आयोजना गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। र्‍यालीमा नेपालका चर्चित ओलम्पियन वैकुण्ठ मानन्धर, दीपक विष्ट, जितबहादुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञानबहादुर बोहरा, टीकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजू, मुकुन्दहरि श्रेष्ठ र सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठ सहभागी हुने छन्।

ओलम्पियन वैकुण्ठ मानन्धरले एउटा खेलाडीका रूपमा देशको गौरव बोकेको साग खेलकुदको ओलम्पिक टच र्‍यालीमा सहभागी बन्न पाउनु खुसीको क्षण भएको बताए। यस र्‍यालीले सागको माहोल देशभर सिर्जना हुने पनि वैकुण्ठले बताए। संघका अध्यक्ष दीपकले सातै प्रदेशमा ओलम्पिक टर्च र्‍याली गरिने र यसले सागको प्रचारप्रसारमा सहयोग पुग्ने बताए।

नौ दिनसम्म चल्ने र्‍याली सागको उद्घाटनको दिन मंसिर १५ गते दशरथ रंगशालामा आएर सकिनेछ। पहिलो दिन काठमाडौंबाट विराटनगर टर्च ‍र्‍याली पु‍र्‍याइनेछ। दोस्रो दिन विराटनगरबाट धनुषा, तेस्रो दिन, हेटौंडा हुँदै चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत हुँदै नेपालगन्ज, छैटौं दिन धनगढी, सातौं दिन धनगढीबाट सागको अर्को आयोजनास्थल पोखरा र आठौं दिन पोखराबाट काठमाडौं ल्याइनेछ। त्यसपछि नवौं दिन बेलुका ५ बजे प्रतियोगिताको उद्घाटनस्थल दशरथ रंगशाला प्रवेश गराइनेछ।
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्