Logo

बंगलादेशीको अवैध प्रवेश



काठमाडौँ, ६ मंसिर । भारतको पानीट्यांकी नाकाबाट गत शुक्रबार सीमा सुरक्षा बल ९एसएसबी० ले तीन बंगलादेशीलाई पक्राउ गर्‍यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मियाँ, वाहिद अली र मोहम्मद नाजमुल समातिएका थिए । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न खोजेका छ जना बंगलादेशीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

भारतीय बंगाली र बंगलादेशी नागरिकलाई ठम्याउन नसक्दा पूर्वी नाकाबाट बंगलादेशीको अवैध आगमन हुने गरेको छ । भारतीय सुरक्षाकर्मीले भिसाबेगर नेपाल छिर्न खोज्नेलाई फाटफुट रूपमा पक्राउ गर्दै आएका छन् । नेपाल प्रहरी तथा अध्यागमन अधिकारी भने बंगलादेशीलाई ठम्याउन नसकिने बताउँछन् । झट्ट हेर्दा उनीहरू भारतीय बंगालीजस्ता देखिन्छन् । भाषा पनि मिल्दोजुल्दो छ । त्यही भएर ठम्याउन गाह्रो परेको नेपाल प्रहरीको अनुभव छ । पहिचान गर्न सक्ने संयन्त्र अभावमा अध्यागमन कर्मचारी र प्रहरी उनीहरूको अवैध प्रवेशबारे बेखबर बनेका हुन् ।

खुला सीमा नाका भएकाले पनि बंगलादेशीको अवैध प्रवेश सहज हुने गरेको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भिसा ‘इन्ट्री’ गर्नेहरूको संख्या पनि घट्दो छ । सन् २०१९ का ९ महिनामा पूर्वी नाकाबाट १ हजार ७ सय २७ जना बंगलादेशी नागरिक वैधानिक रूपमानेपाल प्रवेश गरेको अध्यागमन कार्यालयले जनाएको छ । कुनै समय यो नाका बंगलादेशी पर्यटकका कारण भरिभराउ हुन्थ्यो । सन् २०११ मा मुम्बईमा भएको आतंकवादी हमलाका कारण मुस्लिम देशलाई भारतले ‘ट्रान्जिट’ भिसामा कडाइ गर्‍यो । त्यसमा बंगलादेशीहरू पनि परे ।

पाकिस्तानी यो नाकाबाट आउँदैनन् । भारतको कडाइपछि बंगलादेशीको आगमन दर बर्सेनि घट्दो छ । भिसामा भएको कडाइका कारण उनीहरू अवैध रूपमा पहिला भारत र पछि नेपाल छिर्ने गरेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

नेपाल प्रवेश गर्ने नाकामा निगरानी फितलो छ । त्यसैको फाइदा बंगलादेशी नागरिकले उठाइरहेको स्रोतको दाबी छ । उनीहरू भारतीय नागरिक भन्दै नेपाल प्रवेश गर्छन् । दुई वर्षअघि पनि भारतको खोरीबारी प्रहरीले ६ जना बंगलादेशीलाई नाकाबाटै पक्राउ गरेपछि भारतीय नागरिककै संलग्नतामा उनीहरू अवैध प्रवेश गर्ने गरेको पुष्टि भएको थियो । नाकामा अवैध घूसपैठ रोक्न कडा निगरानी गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी गोविन्दकुमार कार्कीले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्