Logo

एम्बुलेन्स चालक नै मापसेमा



काठमाडौँ, ६ मंसिर । अपर्झट बिरामी परेकालाई तत्काल उपचारका लागि चाँडोभन्दा चाँडो अस्पताल पुर्‍याउन अत्यावश्यक साधन हो, एम्बुलेन्स। बिरामीको जीवनसँग जोडिएकाले यसका चालक अनुभवी र सकेसम्म दुर्घटना नगरेकालाई नै राखिन्छ। तर त्यही चालकले नै लापरवाही गरे के गर्ने रु

तनहुँमा एम्बुलेन्सका एक जना यस्तै चालक प्रहरीको फन्दामा परेका छन्। बन्दीपुर अस्पतालको सरकारी एम्बुलेन्स चालक मापसे गरेको अवस्थामा भेटिएका छन्। ट्राफिक प्रहरीले गरेको नियमित मापसे जाँच गर्दा पोखराबाट बन्दीपुर जाँदै गरेका बन्दीपुर अस्पतालको बा ५ च ९५२६ नम्बरको एम्बुलेन्स चालक कृष्णबहादुर नेपाली मादक पदार्थले लठ्ठिएको अवस्थामा भेटिएका छन्। दमौलीको लोकप्रिय क्लिनिकको ग २ च ७४२३ नम्बरको एम्बुलेन्स चालक आइतबहादुर विक पनि मादक पदार्थ सेवन गरेकै अवस्थामा प्रहरी नियन्त्रणमा परेका छन्।

दुवैलाई मापसे जाँचका क्रममा नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए। ‘नियमित जाँचका क्रममा एम्बुलेन्सका चालकको पनि मापसे जाँचेका थियौं,’ उनले भने, ‘दुई जना स्थानीय चालक मापसे गरेको अवस्थामा भेटिए। ’ उनले सामान्यतः बिरामी भएका बेला एम्बुलेन्स चालकको जाँच नहुने भए पनि धेरै गुनासो आएपछि परीक्षण गरिएको बताए। ‘परीक्षणका क्रममा दुई वटा एम्बुलेन्स भेटिएकामा दुवैले मापसे गरेको पाइयो,’ उनले भने, ‘जाँच हुँदैन भनेर लापरवाही गरेको हुनसक्छ। ’

उनले सरकारी अस्पतालका चालकले नखाएको जिद्दी गरेपछि परीक्षण गराउँदा मापसे प्रमाणित भएको बताए। उनी एक रात प्रहरी हिरासतमा परेका छन्। अर्का चालकले भने मापसे गरेको स्विकारेपछि जरिवाना तिरेर छुटेका छन्। दुवैको लाइसेन्समा प्वाल पारिएको पनि प्रमुख अधिकारीले बताए। पक्राउ चालकलाई प्रहरीले जरिवाना तिराएर छाडे पनि थप कारबाही भने भएको छैन।

सीडीओ रुद्रप्रसाद पण्डितले कानुनअनुसार दोषीमाथि कारबाही हुने बताए। ‘यस विषयमा स्वास्थ्य कार्यालयलाई जानकारी दिएर नियमअनुसार हुने कारबाही गराउने व्यवस्था मिलाउनेछु,’ उनले भने। एसपी विनोद सिलवालले चालकबारे सम्बन्धित संस्थामा जानकारी ट्राफिकमार्फत पठाइने र सेवामा राख्ने वा नराख्ने भने उनीहरूकै विषय हुने बताए। ‘हामीले नियमानुसार कारवाही गर्ने हो,’ उनले भने।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले अस्पतालका चालकको मापसेबारे कुनै जानकारी नपाएको भन्दै अब कारबाही गर्ने बताए। ‘अस्पतालको जिम्माको एम्बुलेन्स ठेक्कामा दिइएको रहेछ,’ उनले भने, ‘जोसुकै भए पनि लापरवाही हुनुहुन्न। अब चालकलाई कारवाही गर्छौं। ’
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्