Logo

पुटिन नेपाल आउने; राष्ट्रपति भण्डारीको निम्तो बोकेर परराष्ट्रमन्त्री रुस जाँदै



काठमाडौं, ६ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणका लागि केही महिनायता गृहकार्य भइरहेकोमा रुसका तर्फबाट सकारात्मक जवाफ आएपछि भ्रमणको सम्भावना बढेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ७ मंसिरबाट हुने रुस भ्रमणका क्रममा पुटिनको भ्रमणबारे गृहकार्य अघि बढ्नेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपतिलाई भ्रमणको निमन्त्रण गर्दै लेखेको औपचारिक पत्र लिएर रुस पुग्नेछन् ।

यसअघि रुसी राष्ट्रपति नेपाल भ्रमणमा आउने खुलासा नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमले गरेका थिए । उनले नेकपाको चीयापानमा ऋषि धमलासँगको कुराकानीमा गरेको खुलासा रिपोर्टर्स नेपालले प्रकाशित गरेको थियो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले पनि पुटिन नेपाल भ्रमण आउनसक्ने बताएका थिए ।

पुटिन नेपाल आएमा रुसी राष्ट्रपतिबाट पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि रुसका कम्युनिष्ट पार्टीका नेता, प्रधानन्याधीश, सांसदहरुले मात्र नेपाल भ्रमण गरेका छन् । तत्कालिन राजा महेन्द्रले सन् १९५८, वीरेन्द्रले १९७६ र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०१० मा रुसको औपचारिक भ्रमण गरेका थिए ।

सन् १९५६ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि रुसबाट नेपालमा राष्ट्रपति या प्रधानमन्त्री तहको भ्रमण भएको छैन । रुसको पछिल्लो समय नेपालमा चासो बढ्दै गएको छ । उसले प्रविधि र ऊर्जा क्षेत्रमा लगानीमा चासो बढाएको हो ।



प्रतिक्रिया दिनुहोस्